लकडाउनमा उपभोक्ता ठग्ने ४४ व्यापारी कारबाहीमा, ४१ लाख जरिवाना



काठमाडौं । लकडाउनमा जनतालाई ठगी गर्ने व्यापारीहरुलाई सरकारले ४१ लाख रुपैयाँ बढी जरिवाना तिराएको छ ।

वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले चैत १२ गतेदेखि हालसम्म ४४ वटा व्यवसायीक फार्मलाई सरकारले कारवाही गरी जरिवाना गरेको हो ।

अत्यावश्यक सेवा अन्तर्गत रहेर लकडाउनमा सञ्चालनमा रहेका खाद्य र मासु पसल, औषधी पसल तथा अस्पताललगायतमा विभागले अनुगमन गरिरहेको विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले बताए ।

‘अहिले विभागले उपभोक्ताबाट प्राप्त भएको गुनासोको आधारमा अनुगमन गरिरहेको छ,’ उनले क्लिकमाण्डूसँग भने ‘असहज परिस्थीतिको फाइदा उठाउँदै केही व्यापारीक फार्महरुले मूल्यवृद्धि गर्ने तथा कालोबजारी गरेको गुनासो विभागमा आइरहेका हुन्छन् ती गुनासो अनुगमनको सबैभन्दा ठूला आधार हुन् ।’

गुनासोलाई प्रमाणिकरण गरेर ठगी गर्ने व्यापारी फार्ममा तुरुन्तै अनुगमन गरी कारवाही गर्ने उनले जानकारी दिए ।

कोरोना भाइसरको जोखिम न्यूनिकरणका लागि सरकारले गत चैत ११ गतेबाट लकडाउनको घोषणा गरेको छ । लकडाउनमा अत्यावश्क सेवा तथा खाद्य किराना पसलहरु भने सुचारु नै छन् । जनतालाई असहज परिस्थीति तथा बाध्यताको फाइदा व्यापारीहरुले लिने आशंकामा विभागले चैत १२ गतेबाट हालसम्म १०६ वटा व्यापारीक फार्ममा अनुगमन गरिसकेको छ ।

जसमध्ये एमआरपीभन्दा बढीमा सामान बिक्री गर्ने तथा उपभोग्य मिति सकिएको सामान बिक्री गर्ने ४४ वटा व्यापारी फार्महरु कारवाहीमा परेको विभागले जानकारी दिएको छ ।

विभागको कारवाहीमा ठूला व्यापारीक फार्म भाटभटेनी पनि एमआरपीभन्दा बढीमा सामान बिक्री गरेर परिसकेको छ ।

साथै पिपुल होम केयर, सेल्सबेरी, सेल्वेज क्यास एण्ड क्यारीलगायत विभिन्न खाद्य सप्लायर्सहरु कारबाहीमा परिसकेका छन् ।

हाल विभागले उपभोक्ता ठगी गर्ने व्यापारीक फार्महरुलाई जरिवाना तिराएर मूल्य घटाउने निर्देशन मात्र गरिरहेको विभागले जनाएको छ ।


क्लिकमान्डु