अर्घाखाँचीको मालारानी गाउँपालिकामा राहत वितरणको फोटो खिच्न नपाइने
काठमाडौं । कोभिड–१९ भनिने कोरोना भाइरसको संकटका बेलामा राहत वितरणका फोटो खिच्ने र देखाउने क्रम बढेसँगै अर्घाखाँची जिल्ला मालारानी गाउँपालिकाले फोटो खिच्न प्रतिबन्ध लगाएको छ ।
मंगलबार निर्णय गर्दै मालारानी गाउँपालिकाले राहत वितरणको फोटो खिच्न नपाइने निर्णय गरेको हो ।
गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले राहत वितरणका नाममा फोटो खिच्ने र देखाउने प्रवृति बढेपछि यस्तो निर्णय गरिएको बताए ।
‘राहत वितरण गरेर राहत पाउनेहरुको फोटो खिच्ने र सामाजिक सञ्जालमा राखेर अपमान नगरौं भन्ने उद्देश्यले फोटो नखिचौं भनेको हो, मिडियाकर्मीका लागि भने रोक लगाइएको छैन,’ उनले भने ।
राहत वितरण सामाजिक सहयोगको भावनाले हुनुपर्नेमा देखाउने प्रवृति बढेपछि गाउँपालिकाले फोटो खिच्न प्रतिबन्ध गरेको हो । राहतका नाममा थोरै राहत वितरण गर्ने र फोटो खिच्ने प्रवृतिप्रति सामाजिक सञ्जालमा पनि आलोचना हुँदै आएको छ ।