कोरोनाको कारण विदेशमा ४९ नेपालीको मृत्यु, १९८३ जना संक्रमित
काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसका कारण विदेशमा ४९ जना नेपालीको मृत्यु भएको छ ।
गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांक अनुसार बेलायतमा ३३, अमेरिका १०, युएई २, आयरल्याण्ड १, जापान १, टर्कि १ र नेदरल्याण्डमा १ जनाको ज्यान गएको हो ।
समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार नेपाल बाहेक विश्वभर १ हजार ९ सय ८३ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् ।
विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको आँकडा अनुसार २४ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
नेपालमा ४९ जनामा कोरोना संक्रमण देखिएको छ भने १२ जना कोरोना मुक्तको भएको समितिले जनाएको छ ।
विदेशमा कोरोना संक्रमण भएका गैरआवासीय नेपाली मध्ये ४ सय ३४ जना कोरोना मुक्त भएको समितिले जनाएको छ ।
संक्रमित हुनेमा देशहरुमा अमेरिका १ हजार, युके ७ सय, युएई ८१, बहराइन ४९, कुवेत ४२, प्रोचुगल २७, आयरल्याण्ड २२, स्पेन १२, अष्ट्रेलिया ११, स्वीजरल्याण्ड ५, बेल्जियम ६, साउदी अरब ४, जर्मनी ४, मलेशिया ३, क्यानाडा ३, न्युजरल्याण्ड ३, साईप्रस ३, जापान २, हङकंङ २, माल्टा २ र फ्रान्समा १ जना संक्रमित रहेको समितिले जनाएको छ ।
समितिले विदेशस्थित बिभिन्न अस्पतालमा कार्यरत तीन दर्जन नेपाली चिकित्सक, नेपाली कुटनीतिक नियोग, गैरआवासीय नेपाली संघका शाखाहरु तथा स्थानीय संघसंस्थाद्धारा प्राप्त सूचनालाई मुख्य आधारलाई मानेर तथ्यांक संकलन गर्दै आएको छ ।
कोरोना भाइरसको महमारीबाट प्रभावित भएका नेपालीहरुको सहयोगार्थ लागि गैरआवासीय नेपाली संघले आफ्ना शाखाहरुलाई परिचालन गरेको छ ।
गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माका अनुसार कोरोना महामारी पछि ४१ देशमा रहेका संघका शाखाहरु मार्फत ९ सय जना स्वयसेवक परिचालन गरेको छ ।
कोरोना संक्रमण पछि विश्वभर छरिएका करिब ३० हजार गैरआवासीय नेपालीहरुले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा राहत प्राप्त गरेको संघले जनाएको छ ।
डा. शर्माका अनुसार ७० जना भन्दा गैर आवासीय नेपाली चिकित्सक समेतले समेत कोरोना संक्रमित भएका देशमा गैरआवासीय नेपालीहरुलाई सघाई रहेका छन् ।