लकडाउनको अवधि घटाउन उद्योगी व्यवसायीको माग
काठमाडौं । उद्योगी तथा व्यवसायीले लकडाउनको अवधिलाई घटाउन र अहिलेको अवस्थालाई सहज बनाउन आग्रह गरेका छन् ।
काठमाडौं महानगर क्षेत्रभित्रको आपूर्ति व्यवस्थालाई सहज बनाउ महानगरपालिकाले सरोकारवालाहरुसँग गरेको छलफलमा उद्योगी व्यवसायीहरुले आपूर्ति व्यवस्थालाई सहज बनाउन आग्रह गर्दै सबै मजदुर गाँउ जादाँ उद्योगमा काम गर्नेको अभाव हुने भएको भन्दै चिन्ता समेत जनाएका छन् ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन लम्बिएसँगै आपूर्ति व्यवस्थामा केही असहज भएको भन्दै आपूर्ति व्यवस्थालाई सहज बनाउन काठमाडौं महानगरपालिकाले सरोकारवालहरुसँग छलफल गरेको हो ।
छलफलमा उद्योग परिसंघका अध्यक्ष शतिशकुमार मोरले उत्पादित बस्तुहरु बजारमा ल्याउन नसक्दा मूल्यवृद्धि हुने भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरेका छन् । गाउँ फर्किने जनशक्तिलाई रोक्ने उपायका बारेमा खोजी गर्नुपर्नेमा उनले जोड दिए ।
नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले श्रमिकहरुलाई व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।
यता खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बर्जाचार्य लगायतले लकडाउनलाई केही खुकुलो बनाउँदै आर्थिक गतिविधिलाई विस्तारै चलायमान बनाउनु पर्नेमा जोड दिए । उनीहरुले नियमित अनुगमनलाई पनि निरन्तरता दिनुपर्नेमा जोड दिए ।
छलफलमा व्यवसायीहरुले आपूर्ति व्यवस्थालाई केही चलायमान बनाउन लकडाउन अवधीभरी बिहान १० बजेसम्म पसल खोल्ने वातावरण बन्नुपर्ने लगायतका माग राखेका थिए । व्यवसायीहरुको मागलाई ध्यानमा राख्दै पसलमा बढी भिडभाड नगरी खाद्यन्न र आवश्यक सामाग्री किनमेल गर्न सहज बनाउने विषयमा महानगरपालिका र प्रशासन पनि सकारात्मक बनेको छ ।
‘लकडाउनको अवधिमा आपूर्ति व्यवस्थालाई एक रुपता कायम गर्दै आर्थिक गतिविधिलाई पनि चलायमान बनाइराख्नुपर्छ भन्ने विषयमा बढी जोड दिएका छौँ,’ प्रमुख शाक्यले भने, ‘अहिले लकडाउनको अवस्थामा अतिविपन्न, असाहय र मजदुरलाई मात्रै राहतको व्यवस्था गर्ने होइन आफैँ किन्न सक्नेलाई किन्ने वातावरण समेत निर्माण गरिदिनु पर्ने अवस्था छ । यो विषयमा पनि हामीले गम्भीर भएर छलफल गरेका छौँ । हामी सकेसम्म सहज वातावरण निर्माण गर्छौ ।’
महानगरपालिका क्षेत्रभित्रका पसललाई कहिले वडाले खोल भन्ने प्रहरीले बन्द गर्ने वा वडाबाट नखोल्नु भन्ने प्रहरीले खोल्नु भन्ने अवस्था हुँदा थप समस्या हुने भन्दै समन्वय गरेर मात्रै अघि बढ्नु पर्नेमा जोड दिए ।
उनले महानगरपालिकाबाट ६२ हजार ७ सय २२ जनाले राहत प्राप्त गरेको र १४ हजार ५ सय १७ जनालाई खाना खुवाएको मेयर शाक्यले बताए । ‘काठमाडौँ महानगरबाट मात्रै यति धेरैलाई राहत वितरण गर्ने र खाना खुवाउने काम भएको छ,’ उनले भने, ‘यति हुँदा पनि खाने कुराको समस्या भएर गाउँ फर्किन बाध्य भएको भन्ने समाचारहरु आइरहेका छन् । खानाकै समस्या भएर गाउँ फर्किनु पर्ने अवस्था आउन दिदैँनौ भनेर हामीले पटक–पटक भन्दै आएका छौँ । कोही बाध्य छ भने हामी अहिले पनि उहाँहरुलाई खाद्यन्नको व्यवस्था गर्न तयार छौँ ।’
प्रमुख शाक्यले अहिलेसम्म काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका ८ सय ५६ जनाको र्यापिड टेष्ट गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको भन्दै अहिलेसम्मको अवस्थामा काठमाडौँ सुरक्षित रहेकाले हतार गरेर उपत्यका नछाड्न महानगरवासीलाई आग्रह गरे ।
छलफलमा प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेलले अवस्था अनुसार उत्पादन क्षेत्रमा लागेकाहरुलाई सरकारको निर्णयलाई बाधा नपुग्ने गरी सहजीकरण गरेको बताए । उनले कोरोना संक्रमणको शंका लागे तत्काल परिक्षण गर्नेतर्फ ध्यान दिन आग्रह गर्दै महानगर भित्रका कामहरुलाई र व्यापार–व्यवसायलाई सम्भव भएसम्म सहज बनाउनुपर्नेमा जोड दिए ।