अमेरिकामा दुई वटा विरालोमा कोरोना संक्रमण देखियो



एजेन्सी । अमेरिकाको न्यु योर्कमा दुई वटा विरालोमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमण भएका ती विरालामा कोरोना पोजेटिभ देखिएको हो । कोरोना पुष्टि भएका यी नै पहिलो घरपालुवा जनावर हुन् ।

विरालामा संक्रमण देखिएपनि घरपालुवा जनावरले भाइरस फैलाउने अहिलेसम्म कुनै प्रमाण नभएका कारण नडराउन अमेरिकाका मेरिडल विज्ञ डाक्टर एन्थोनी फाउसीले बताएका छन् ।

संक्रमित मानिस वा छिमेकीबाट ती विरालोमा संक्रमण भएको हुनसक्ने युएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले अनुमान गरेको छ ।

श्वासप्रश्वासमा समस्या देखिएका ती विराला न्यू योर्कको छुट्टै क्षेत्रका भएको बिबिसीमा उल्लेख गरिएको छ । संक्रमित विराला छिट्टै पुर्णरुपमा निको हुने अपेक्षा गरिएको छ ।

यसअघि न्यू योर्कमास्थित ब्रोङक्स चिडियाखानामा रहेका पाँचवटा बाघ र तीनवटा सिंहमा पनि कोरोना संक्रमण देखिएको थियो । त्यसैगरी हङकङमा पनि कुकुरमा कोरोना पोजेटिभ देखिएपछि क्वारेन्टाइनमा राखिएको थियो ।

कुकुरका मालिकमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित कुकुर निको भएपछि घर फिर्ता लगिएपनि पछि कुकुरको मृत्यु भएको थियो । तर मृत्युको कारण खुल्न सकेको छैन । ह्ङकङमा अर्को जर्मन सेर्फड कुकुरमा पनि कोरोना पोजेटिभ देखिएको थियो । उक्त कुकरका मालिकमा पनि कोरोना देखिएको थियो ।


क्लिकमान्डु