खाडीका श्रमिकको समस्या तत्काल सम्बोधन हुन्छः परराष्ट्रमन्त्री मन्त्री ज्ञवाली
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरसले बढी प्रभावित देशका गैरआवासीय नेपाली संघ अध्यक्षहरुसँग प्रत्यक्ष संवाद गरेका छन् ।
मन्त्री ज्ञवालीले मन्त्रालयबाट विदेशस्थित ११ देशका गैरआवासीय नेपाली संंघका अध्यक्षसँग भिडियो कन्फ्रेन्स कलमार्फत् नेपाली समुदायमा कोरोना भाइरसका कारणले बिचल्लीमा परेका नेपालीको विषयमा चिन्ता जनाएका छन् ।
‘नेपालमा लकडाउनको अवस्था लम्बिदै गएका कारण विदेशमा रहेका नेपाललाई तत्काल नेपाल फर्काउन नसकिएको जानकारी गराए । ‘विदेशमा अलपत्र परेका नेपालीप्रति सरकार पूर्णरुप जानकार र सचेत छ, हामी अवस्था अनुकूल हुने वित्तिकै नेपाल फर्किन प्रकृया सुरु गछौं, मन्त्री ज्ञवालीले भने, ‘सरकार वैदेशिक रोजगारीमा रहेका नेपाली मुख्यतयः खाडी क्षेत्रका श्रमिकका समस्यालाई तत्काल सम्वोधन गर्ने बिषयमा सकरात्मक छ ।’
सरकारका कूटनीतिक नियोग र गैरआवासीय नेपाली संघसँगको छलफलबाटै समस्याको समाधान निकालिने जानकारी दिदै मन्त्री ज्ञवालीले विदेशमा गैरआवासीय नेपालीलाई धैर्य गर्न आग्रह गरे । उनले अप्ठ्यारो अवस्थामा विदेशमा रहेका नेपालीले खेलेको भूमिकाको प्रशंसा गर्दै कोरोना भाइसरबिरुद्ध जनचेतना, पीडितका लागि राहत वितरणलगायतका काममा गैरआवासीय नेपाली संघका शाखाले खेलेको भूमिकाप्रति खुशी व्यक्त गरे ।
मन्त्री ज्ञवालीले कोरोनाबाट प्रभावित देशसँगसमेत सरकारले छलफल गरिरहेको जानकारी दिँदै विदेशस्थित संघसंस्था र सरकारी नियोग नभएका देशमा गैरआवासीय नेपाली संघसँग मिलेर काम गर्न नेपाली दूतावासहरु सक्रिय पारिएको बताए ।
बैठकमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले कोरोना भाइरसको संक्रमणलाई रोक्न नेपाल सरकारले चालेका कदम प्रभावकारी रहेको बताए । अध्यक्ष पन्तले भने, ‘विदेशको अनुभवले पनि नेपाल सरकारका निर्णय निकै प्रभावकारी देखिएका छन् । धेरै देशले लकडाउनको निर्णय समयमा गर्न नसक्दा संक्रमण बढेको छ, लकडाउनको लागि नेपाल सरकारले गरेको निर्णय ऐतिहासिक हो ।’
अध्यक्ष पन्तले कोरोनो भाइरसले प्रभावित पारेका वैदेशिक रोजगारीमा रहेका नेपालीप्रति राहत कार्यक्रममा सरकारसंग मिलेर काम गर्न संघ तयार रहेको बताए ।
उनले युरोप अमेरीकाका गैरआवासीय नेपालीभन्दा मध्यपूर्वका देशममा वैदेशिक रोजगारीमा रहेका नेपाली ठूलो समस्या रहेको बताए । पन्तले भने ‘सरकारसँग युरो अमेरिकाको धेरै अपेक्षा छैन तर श्रमिकका लागि सरकारले पहल कदमी चाल्नु पर्छ ।’
संघका महासचिव डा हेमराज शर्माले नेपाल सरकारले विदेशमा रहेका नेपाली चिकित्सकहरुको विज्ञतालाई अहिलेको कोरोना महामारीमा सदुपयोग गर्न सुझाव दिए । उनले विदेशस्थित नेपाली कूटनीतिक नियोग, गैरआवासीय नेपाली संघ र नेपाल सरकारबीचको एक संयुक्त कार्यदलमार्फत कोरोना पीडितका लागि राहत वितरण गर्नुपर्ने विचार व्यक्त गरे ।