बैंकिङ क्षेत्रमा समस्या परे सहकारी अछुतो रहँदैनः रजिष्ट्रार पाण्डे



काठमाडौं । सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले कोरोनाका कारण नेपालको बैंकिङ क्षेत्रमा समस्या आएको खण्डमा सहकारीमा पनि समस्या देखिने बताएका छन् ।

सहकारी पत्रकार समाजले आयोजना गरेको छलफल कार्यक्रममा रजिष्ट्रार पाण्डेले सहकारी क्षेत्रले उत्पादनमुलक क्षेत्रमा लगानी नगरी वाणिज्य बैंकमा राख्दा बैंकमा समस्या आएको खण्डमा सहकारीमा पनि समस्या आउने बताएका हुन् ।

‘अहिले सहकारीको पैसा सहकारीमा छैन वाणिज्य बैंकमा छ । बैंक समस्यामा पर्दा सहकारी पनि समस्यामा पर्छन,’ उनले भने । छलफलको क्रममा उनले सहकारीमा बचत गर्नेहरुले समस्या परेको समयमा गर्जो टार्नका लागि बचत गरेको भएकाले त्यो बचत बचतकर्ताले चाहेको समयमा पाउन सक्ने वातावरण बनाउनु पर्ने बताए ।

उनले आगामी आवको बजेटमा सहकारीको सिलिङ घटेर आएको भन्दै घटेको बजेटमा काम गर्नुपर्ने अवस्था रहेको पनि जानकारी गराए ।

उनले सहकारी महासंघ र सहकारी अभियानलाई आर्थिक ऐनमा समावेश गर्न आवश्यक सुझाव दिन पनि आग्रह गरेका छन् । ‘सहकारीलाई पनि राज्यले बैंकलाई दिएको जस्तो सेवा आवश्यक पर्ने भएकाले त्यस्तो सुझाव दिनुपर्छ,’ उनले भने ।

आगामी दिनमा सहकारी सस्थाहरु कसरी चलाउने भन्ने निकै चुनौती बढेको पनि उनको भनाइ छ । उनले अहिले सहकारीमा दुई खाले समस्या देखिएको बताउँदै लकडाउन खुल्नासाथ सदस्य सहकारीमा पैसा निकाल्न आए भने समस्या हुने बताएका छन् ।

‘पैसा निकाल्न आए सहकारी कसरी चल्ने, वा बैंकको बन्दा बढी ब्याज आउँछ भन्दै पैसा ननिकाले भने पनि समस्या हुन्छ, यो हाम्रा लागि चुनौती हो, उनले भने ।

रजिष्ट्रार पाण्डेले आगामी दिनमा सहकारी क्षेत्रले पनि सहुलियतपूर्ण कर्जा दिने व्यवस्था गर्न आवश्यक रहेको बताए । ‘उक्त विषयमा अर्थ मन्त्रालयमा प्रस्ताव पनि पेश गरेका छौं । अब सहकारीले सहुलियतपूर्ण कर्जाको साथै युवा स्वरोजगार कोषको पैसा नदिने हो भने सहकारीमा तरलताको चरम अभाव हुनेछ,’ उनले भने ।

उनले फरक प्रसंगमा प्रदेशका केही सहकारीहरुले फरक प्रकृतिको ऋणमा छुट दिन थालिसकेको जानकारी गराए । फरक प्रकृतिका कर्जाका ब्याजको विषयमा छलफल भइरहेको र निर्णयमा पुगिनसकेको उनको भनाइ छ ।

उनले सहकारी संस्थाहरुलाई समस्यालाई अवसरको रुपमा लिन आग्रह गरेका छन् । सहकारी आगामी दिनमा प्रविधिमैत्री हुन आवश्यक रहेको पनि जानकारी गराए ।

छलफलमा सहकारी महासंघका अध्यक्ष मीनराज कंडेलले कोरोनाका कारण कृषि क्षेत्रमा निकै असर परेको बताए । उनका अनुसार कोल्ड स्टोरको अभावमा कृषि सहकारीका सदस्यले उत्पादन गरेको तरकारी खेर गएको बताए ।

कृषि सहकारीहरुले तरकारी संकलन गरेको बजारिकणमा सहयोग गरेका कारण कृषकको उत्पादनमा धेरै खेर जान नपाएको उनको भनाइ छ ।

अध्यक्ष कंडेलका अनुसार मौरीबाट ५ करोड क्षती भएको, ८ लाख मालिक मौरीसँग दौडन नसकेर मह मौरीले नै खाँदा ५ करोड क्षती भएको सहकारीबाट संकलन भएको ६ लाख लिटर दुधमा ३ लाख खेर, चियामा ६ करोड रुपैयाँ क्षती भइसकेको जानकारी गराए ।

अध्यक्ष कंडेलका अनुसार कृषकले मल, बिऊ नपाउने समस्या रहेको भन्दै यो समस्या तत्काल समाधान हुन आवश्यक रहेको बताए ।

सहकारीले सदस्यलाई सेवा दिन खोजे पनि पास नभावको कारण समस्या भएको भन्दै केही सहकारीहरुले सेवा केन्द्रमार्फत सेवा दिइरहेको बताए ।

सहकारी संस्थाहरुले ब्याजदरका साथै समग्र सहकारीको क्षेत्रमा सहुलियत दिनको लागि सहकारी अभियान, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहकारी विभाग बसेर छलफल गर्ने बताए ।

सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) बद्री गुरागाईले लकडाउन खुलेपछि सदस्यहरु आएर धमाधम बचत निकाल्न थालेको खण्डमा कस्तो अवस्था आउने हो त्यसमा सबै अहिले नै सचेत हुनुपर्ने बेला आएको बताए ।

उनले अबका दिनका सहकारी संस्थाहरु पूर्ण रुपमा प्रविधिमैत्री बन्नु पर्ने पनि बताए । उनले सहकारी बैंकले राष्ट्र बैंकले भने जसरी नै चैतबाट ब्याजमा छुट दिन थालेको पनि जानकारी गराए ।


क्लिकमान्डु