पर्यटनमन्त्री योगेश भट्टराईको प्रस्ताव- आन्तरिक पर्यटक बढाउन १ महिना पर्यटन बिदा दिनुपर्छ



काठमाडौं । पर्यटनमन्त्री योगेश भट्टराईले आन्तरिक पर्यटक बढाउनका लागि १ महिनाको पर्यटन बिदा दिन सकिने बताएका छन् ।

आर्थिक पत्रकार समाज नेपाल (सेजन)ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले कोरोना भाइरसका कारण विदेशी पर्यटक आउने सम्भावना नरहेको हुँदा आन्तरिक पर्यटन बढाउनका लागि सबै क्षेत्रका कर्मचारीलाई १ महिनाको बिदा दिन सकिने बताए ।

‘अर्थतन्त्रलाई रिभाइभ गर्नुपर्ने छ, त्यसका लागि आन्तरिक पर्यटक बढाउनु पर्छ त्यसका लागि सबै क्षेत्रका कर्मचारीलाई वर्षको एक महिना पर्यटन बिदाको योजना ल्याउनुपर्छ,’ मन्त्रीले भट्टराईले भने ।

साथै अहिले पर्यटन क्षेत्र निकै प्रभावित भएकाले पर्यटन क्षेत्रमा भएका कर्मचारीलाई वैकल्पिक काममा लगाउन सकिने बताए ।

‘नयाँ ट्रेल बनाउनका लागि, सरसफाइका काममा लगाउन सकिन्छ र त्यसका लागि सरकारले पारिश्रमिक तोक्न सक्छ,’ उनले भने ।

कोभिड १९ बाट के कति असर पर्यो भन्ने अझै यकिन तथ्यांक नभएकाले हाल समिति गठन गरी यसबारेमा जानकारी लिने काम भइरहेको बताए ।

मन्त्रालयका सहसचिव धनश्याम उपाध्याय, नेपाल पर्यटन बोर्डका सीइओ धनञ्जय शर्मा र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोख्रेल गरी ती सदस्यीय समितिले यसबारेमा अध्ययन गरिरहेको जानकारी दिए ।

समितिले यस क्षेत्रमा कति लगानी भएको छ, कुन कुन बैंकबाट कति ऋण प्रवाह भएको छ र किस्ता कति बुझाउनुपर्छ भन्ने तथ्यांक संकलन हुन्छ । यति तथ्यांक संकलन भएपछि मात्रै राहत कसरी ल्याउने भन्ने निर्णय गर्न सजिलो हुने उनको भनाइ छ ।

मन्त्री भट्टराईले गत आवमा पर्यटन क्षेत्रबाट ६७ अर्ब ९ करोड रुपैयाँ आर्जन भएको बताउँदै अब विदेशी पर्यटक नआउने भएकाले आन्तरिक पर्यटनमा जोड दिनुपर्ने बताए ।

उनका अनुसार हाल यस क्षेत्रमा १५ खर्ब ९५ अर्ब रुपैयाँ लगानी भएको छ भने यसमा ७ लाख २० हजार जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।

साथै उनले आगामी आर्थिक वर्षमा पुँजीगत खर्च कटौती गर्न नहुने समेत बताए ।

‘रोजगारी बढाउने क्षेत्र नै पुँजीगत खर्च हो, त्यसमा कटौती गर्न हुँदैन, अन्य क्षेत्रको बजेट कटौती हुन सक्छ,’ उनले भने ।


क्लिकमान्डु