महानगरका ४६४ जनाको र्यापिड टेष्ट, सबैको रिपोर्ट नेगेटिभ



काठमाडौं । काठमाडौँ महानगरपालिकाले विदेशबाट फर्किएर महानगरपालिकामा वसोवास गर्दै आएका र उनीहरुको सम्पर्कमा रहेका व्यक्तिको र्यापिड डाइनोस्टिक टेस्टलाई तिव्रता दिएको छ ।

काठमाडौंको सनसिटी अपार्टमेन्टमा बस्ने २ जनालाई कोरोना पोजेटिभ देखिएपछि उनीहरुको सम्पर्कमा पुगेको भेटिएसँगै पहिला काठमाडौँ महानगरपालिकाको वडा नम्बर–५ मा ३९ जनाको र्यापिड डाइनोस्टिक टेस्ट गराएको थियो । दोस्रो दिन वडा–४ मा ५१ जनाको टेष्ट गरेको महानगरपालिकाले शुक्रबारसम्म ८ वटा वडाका ४ सय ३ जनाको ¥यापिड डाइनोस्टिक टेस्ट गरेको थियो । आजसम्म ४ सय ६४ जनाको टेष्ट गरेको छ ।

काठमाडौँ महानगरपालिका सहरी स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र बिलास बज्राचार्यका अनुसार भित्री शहरमा १८, १९, २०, २१, २२, २३, २४, २९ गरी ८ वटा वडाका ७८ जनाको टेष्ट गरिएको छ । बसन्तपुर डवलीमा सामाजिक दूरी कायम गरी टेष्ट गरिएको थियो ।
टेष्टमा ७८ जनाकै रिपोर्ट नेगेटिभ आएको बज्राचार्यले जानकारी दिए । उनले वडा–१२, १३ र १४ को टेष्ट भोलि (आइतबार) गर्ने बताए ।
त्यसैगरी शुक्रबार एकै ठाउँमा ९, १०, ३१, ३२ वडाको टेष्ट गरिएको थियो । जहाँ २ सय ४८ जनाको टेष्ट भएको थियो । त्यस्तै वडा–१५ का ४८ जनाको पनि टेष्ट हिजै भैसकेको छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले २०७६ फागुन १८ गतेपछि विदेशबाट फर्किएर महानगर क्षेत्रमा बसोबास गरिरहेका, कोरोना लक्षणको संका लागेकालगायतका व्यक्तिहरुको संक्रमणको अवस्था पत्ता लगाउन ३२ वटै वडामा यस प्रकारको परीक्षणलाई तिव्रता दिएको जानकारी दिए । उनले विदेशबाट फर्किएकाहरुको तथ्याङ संकलन गरिरहेको पनि जानकारी दिए ।
प्रमुख शाक्यले पहिलो चरणमा ३२ वटै वडासम्म पुगेर २०७६ फागुन १८ पछि विदेश भ्रमण गरी महानगरमा बसोवास गर्दै आएका महानगरवासीको विवरण संकलन गर्ने, उनीहरुको अवस्था बुझ्नेलगायतका कार्य गरेको भन्दै ¥यापिड डाइनोस्टिक टेस्टलाई तिव्र रुपमा अघि बढाएको बताए । ‘अहिले हामीले पहिलो प्राथमिकता विदेशबाट आएर महानगरभित्र बसोवास गर्ने र उहाँहरुको सम्पर्कमा आएकालाई दिएका छौँ,’ उनले भने, ‘कोरोना संक्रमणको आशंकामा रहेकाले पनि म कोरोनामुक्त छु भनेर ढुक्क हुने प्रमाणपत्र प्राप्त गरोस भनेर भनेर यो टेष्ट गरिरहेका छौँ । उहाँहरुको सकिएपछि जनप्रतिनिधि, कर्मचारीलगायतको पनि परिक्षण गर्ने तयारी छ ।’ उनले कतै त्यस्ता व्यक्ति देखिए, भेटिए वा सम्पर्कमा भए जानकारी दिन पनि आग्रह गरे ।


क्लिकमान्डु