अमेरिकाद्वारा किसान लक्षित १९ बिलियन डलरको राहत घोषणा



काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले किसानहरुका लागि १९ विलियन डलर राहत घोषणा गरेका छन् । कोरोना महामारीका बेला संघर्षरत कृषि क्षेत्रको सहयोगका लागि आर्थिक संरक्षण प्याकेज घोषणा गरिएको हो ।

शुक्रबार आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले सरकारले महान कृषकहरुका लागि १९ बिलियन डलरको राहज प्याकेज कार्यान्वयन गर्ने बताए ।

उनले महामारीका कारण अनपेच्छित घाटा ब्यहोरेका कृषक, उत्पादकहरुलाई सिधै राहत दिने स्पष्ट पारेका छन् ।

महामारीका कारण स्कुल तथा रेष्टुरेन्टहरु बन्द भएपछि धेरै अमेरिकनहरुले घरमा बसेर खादाँ त्यसले खाद्यान्न सप्लाईमा असर परेको बताइएको छ । महामारी कारण बिक्रीमा आएको कमिले धेरै किसानहरुले दुग्धजन्य पदार्थ नष्ट गर्नुका साथै ग्राहक नपाएका बालीनाली जोतेर नष्ट गर्नपर्ने बाध्यता छ ।

बजार लैजान तयारी अवस्थाका दुध र बाली नष्ट गर्नुपर्ने कृषकको बाध्यता आर्थिक क्षति मात्र नभई उत्पादकका लागि हृदयविदारक अवस्था भएको समेत बताइएको छ ।

अमेरिकाको फार्म तथा खाद्यान्न क्षेत्रमा कोरोना महामारीका कारण विभिन्न तरिकाले क्षति पुगेको छ । कृषकहरुले बालीनाली स्याहार्न कामदार पाएका छैनन । ग्राहकको खाने बानीमा आएको परिवर्तनले सबैभन्दा धेरै असर पारेको छ ।

बन्द भएका स्कुल, विश्वविद्यालय, रेष्टुरेन्ट, बार र क्याफेटेरियाका कारण दुध, मासु, फलफुल, तरकारी र अन्य खाद्यान्न क्षेत्रमा नकरात्मक असर परेको छ ।

८० मिलियन अमेरिकीहरुले कोरोना भाइरस राहत रकम पाइसकेको समेत ट्रम्पले बताएका छन् ।

गत महिना ट्रप्ले विभिन्न क्षेत्रका लागि राहत प्याकेज दिन २।२ ट्रिलियन अमेरिकी डलरको राहत प्याकेजमा हस्ताक्षर गरेका थिए ।
अहिले विश्वभर कोरोना संक्रमितको संख्या २२ लाख भन्दा धेरै पुुगेको छ भने करिब डेढ लाख जनाले ज्यान गुमाइसकेका छन् ।

त्यसैगरी अमेरिकामा मात्रै ७ लाख कोरोना संक्रमित पुष्टि भइसकेका छन भने ३४ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ ।


पुष्प दुलाल