ऊर्जा सचिवको भर्चुअल सम्वाद: न्यू बुटवल गोरखपुर अन्तरदेशीय प्रसारणलाइनको काम शुरु गरौ
काठमाडौं । लकडाउनका बेला केही सरकारी अधिकारीले आफ्नो कामलाई नियमित अगाडि बढाइहेका छन् । यसै क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले भारत र बंगलादेशका आफ्ना समकक्षीसँग भर्चुअल सम्वाद गरेका छन् ।
उनले कोरोनाका कारण एक अर्का देशको ऊर्जा क्षेत्रमा परेको असर तथा त्यसबाट बाहिर निस्कने प्रयासका बारेमा सम्वाद गरेका हुन् ।
सचिव घिमिरेका अनुसार उनले भारतीय समकक्षीसँग न्यू बुटल गोरखपुर प्रसारण लाइन निर्माणको तयारीका बारेमा विशेष सम्वाद भएको छ । सम्वादमा तत्काल कम्पनी स्थापना गरी काम गर्न भारतीय पक्षलाई आग्रह गरेका हुन् ।
गत असोज २६ र २७ मा भएको दुई देशका ऊर्जा सचिवस्तरीय बैठकमा सो प्रसारण लाइन निर्माणको विषयमा सहमति जुटेको थियो । समान लगानीमा नेपाल र भारतले छुट्टै कम्पनी स्थापना गरी सो प्रसारण लाइन निर्माण गर्ने सहमति भएको थियो ।
केही समय अघि नेपाल भ्रमणमा आएका भारतीय ऊर्जा सचिवले सो आयोजनाका बारेमा छिट्टै निर्णय हुने बताएका थिए । आफू फर्केको १५ दिन भित्र निर्णय हुने बताएर ऊर्जा सचिव भारत गएपनि कोरोनाको असर देखिन थालेपछि जटिलता पैदा भएको हो ।
कोरोनाको कहरकैबीचमा पनि केही न केही उपाय खोज्ने बारेमा कुराकानी भएको छ । प्रसारण लाइन निर्माणका लागि नेपालका तर्फबाट नेपाल विद्युत् प्राधिकरण र भारतको एनभिभिएनले मिलेर काम गर्ने हसमति यस अघि नै भएको छ ।
यस्तै नेपालको विद्युत् बंगलादेश लैजाने विषयमा समेत नेपाल, भारत र बंगलादेशका ऊर्जा सचिवहरुबीचको त्रिदेशीय बैठक आयोजना गर्ने विषयमा समेत कुराकानी भएको छ ।
कूल ४०० केभी क्षमताको न्यू बुटवल गोरखपुर प्रसारण लाइन निर्माणको प्रक्रिया अगाडि बढेपछि करिब ३००० मेगावाट विद्युत् निर्यातका लागि मार्ग प्रशस्त हुनेछ । सो प्रसारण लाइन ढल्केबर– मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनको विकल्पका निर्माण हुन लागेको अर्को आयोजना हो ।
यस्तै सो प्रसारण लाइन नेपालमा विवादमा पारिएको अमेरिकी सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कपोरेशनको परियोजनासँग जोडिएको आयोजना पनि हो । काठमाडौंको नांगलेभारेबाट शुरु हुने ४०० केभी क्षमताको प्रसारण लाइन बुटवल हुँदै भारतको गोरखपुरमा जोडिन्छ ।