कोरोना भाइरस बीमालेख जारी गर्न बीमा समितिको निर्देशन
काठमाडौं । बीमा समितिले कोरोना भाइरस बीमालेख जारी गर्न सबै निर्जीबन बीमा कम्पनीलाई निर्देशन दिएकाे छ । समितिका अनुसार सबै निर्जीबन बीमा कम्पनीहरुको बीमा पुल मार्फत गर्न निर्देशन दिएको हो ।
विश्वभर फैलिएको उक्त भाइरसको कारण नेपालमा पनि १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । यस सन्दर्भमा उक्त रोग नेपालमा अझै फैलन सक्ने अवस्था तथा सम्भावनालाई समेत मध्यनजर गरी विशेषगरी ग्रामीण स्तरसम्म न्यूून आय भएका वर्गलाई समावेश गर्ने उद्देश्यले तपशील यो बीमालेख जारी गरेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।
उक्त बीमालेखमा हाल विद्यमान रहेको घातक रोग सरहको बीमालेख अनुसार हुने गरी गर्ने व्यवस्था गरेको छ । उक्त बीमा अन्तर्गत क र ख बीमाङ्क कायम गर्ने समितिले जनाएको छ ।
कमा १ लाख सम्मको बीमाङ्क राखेर गर्न मिल्ने छ । जसमा व्यक्तिगत रुपमा बीमा गर्दा प्रति व्यक्ती एक हजार बीमा शुल्क कायम गर्ने, तर परिवारका सदस्यको समेत गर्ने गरी बीमा समावेश भएमा प्रतिव्यक्ती ६ सय रुपैयाँ बीमाशुल्क कायम गर्ने समितिको भनाई छ ।
यस्तै खमा ५० हजारसम्मको बीमाङ्क रकम राखेर बीमा गर्न मिल्ने छ । यसमा व्यक्तिगत रुपमा बीमा गर्दा प्रतिव्यक्ति ५ सय रुपैयाँ बीमा शुल्क कायम गर्ने र परिवारका सम्पूर्ण सदस्यको समेत बीमा समावेश भएमा प्रति व्यक्ति ३ सय रुपैयाँ बीमाशुल्क कायम गर्ने समितिले जनाएको छ ।
समितिका अनुसार दाबीको लागि बीमा सुरु भएको १५ दिनसम्म प्रतिक्षा अवधि रहने छ । दाबी भुक्तानीका लागि कोरोना भाइरस पुष्टि हुने पोलिमिरास चाइना रियाक्सन (पीसीआर) टेस्ट पोजेटिभ हुनासाथ दाबी योग्य हुनेछ ।
कोरोना भाइरस बीमाको व्यवस्थापन लघुबीमा अन्तर्गत मौजुदा लघु बीमा मार्फत गर्ने र बीमालेखहरु जारी गर्दा हाल कृषि बीमा तथा घुम्ती बीमाका लागि तोकिएका जिल्लामा कार्यरत बीमा कम्पनीले अनिवार्य रुपमा गर्नुपर्ने कार्यकारी निर्देशक पौडेलले बताए ।