सनसिटीका कोरोना संक्रमितले ५ नम्बर वडा कार्यालयमा पिएका थिए चिया, अध्यक्षसहित ३९ जनाको र्यापिड टेस्ट



काठमाडौँ । काठमाडौंको सनसिटी अपार्टमेन्टमा बस्ने कोरोना पोजेटिभ देखिएका दुई जना काठमाडौँ महानगरपालिकाको वडा नम्बर–५ को सम्पर्कमा पुगेपिछ त्यहाँका ३९ जनाको र्‍यापिड टेस्ट गरिएको छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले अपार्टमेन्टमा रहेका दुई संक्रमित चैत्र ९ गते वडा-५ मा उपस्थित भएको प्रमाणित भएसँगै वडा–५ का जनप्रतिनिधि, कर्मचारी र राहत वितरणमा खटेका सबैको र्‍यापिड टेस्ट गरेको जानकारी दियो ।

वडा नम्बर-५ का अध्यक्ष रमेश ढंगोलले पनि उनीहरु चैत ९ गते दिउँसो १२ बजेतिर छोरीको जन्मदर्ता गर्नका लागि वडाको सम्पर्कमा आएका थिए । ‘उहाँहरु चैत ९ गते १२ बजेतिर वडामा दुबै जना बुढाबुढी आउनु भएको थियो । हामीले उहाँहरुको काम गरेर चिया खुवाएर पठायौँ,’ डंगोलले भने, ‘पछि उहाँहरुमा कोरोना पोजेटिभ देखियो भनेपछि हामीले उहाँहरुसँग सम्पर्कमा रहेको आशंकामा यहाँका जनप्रतिनिधि, कर्मचारी र राहतमा खट्ने सबैको र्‍यापिड टेस्ट गर्यौँ । उहाँहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ ।’

काठमाडौँ क्षेत्र नम्बर-५ का प्रदेश सांसद नारायण सिलवालले पनि ३९ जनाको र्‍यापिड टेस्ट गरेको र सबैको रिपोर्ट नगेटिभ आएको जानकारी दिए । उनले आफू र वडाध्यक्षको समेत टेष्ट नेगेटिभ आएको जानकारी दिए ।


क्लिकमान्डु