अक्सफोर्डका वैज्ञानिक भन्छन्- कोरोना विरुद्धको खोप सेप्टेम्बरसम्ममा तयार हुनसक्छ



काठमाडौं । विश्वभर महामारी बनेको कोरोना भाइरस विरुद्धको खोप आगामी सेप्टेम्बरसम्ममा तयार हुन सक्ने बैज्ञानिकहरुले बताएका छन् ।

अक्सफोर्ड विश्वविद्यालयकी भ्याक्सिन विषयकी प्रोफेसर सराह गिल्बर्टले उनीहरुले तयार गरिरहेको भ्याक्सिनले कोरोना संक्रमित विरामीको उपचारमा काम गर्नेमा आफु ८० प्रतिशत ढुक्क भएको बताएकी छिन् । उनको टिमले उक्त भ्याक्सिन सेप्टेम्बरसम्ममा तयार गर्ने गरी काममा निरन्तर काम गरिरहेको समेत प्रष्ट पारेकी छिन् ।

विज्ञहरुले कोरोना विरुद्धको खोप बन्न कम्तिमा १२ देखि १८ महिना लाग्ने बताइरहेका बेला बेलायतमा कोरोना खोपबारे अध्ययन गरेको बैज्ञानिकको समुहबाट सेप्टेम्बरसम्म खोप बन्न सक्ने सभावना देखिएको बताएको हो ।

उनले लन्डन पत्रिकालाई भनेकी छिनः अक्सफोर्ड समुहका लागि यो कुनै अनुमानको कुरा होइन, जति हप्ता वित्दै जान्छन हामीले तथ्यांक नियाल्दै काम गरेका छौ । गिल्र्बटको समुह भ्याक्सिन बनाउन विश्वभर खटिएका दर्जनौ समुहरुमध्येको एक हो । यो समुह बेलायतको एडभान्स टिम हो ।

उक्त समुहले तयार गरेको खोपको परीक्षण अबको दुई हप्तापछि शुरु हुनेछ ।


पुष्प दुलाल