अवैधानिक काममा कृषि सहकारी संस्थाको सकृयता



बारा । देशमात्रै नभएर विश्व नै कोरोना भाइरसको सन्त्रासमा रहेको समयमा बारा जिल्लामा रहेका सहकारी संस्थाहरु भने ठगी धन्दामा लागेका छन् ।

प्रसौनी गाउँपालिका-५ प्रस्टोकाबाट अवैध रुपमा बिक्रीको लागि लुकाई राखेको ५० केजीका २९ बोरा युरिया र १० बोरा डिएपी मल प्रहरीले बरामद गरेको हो ।

उक्त ठाउँका शम्भु साह र रमेश साहले प्रसौनी गाउँपालिका–६ स्थित ऋषि बाल्मिकी कृषि सहकारी संस्थाबाट युरिया तथा डिएपी मल लुकाई छिपाई राखेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार अनुमति प्राप्त कृषि सहकारी संस्थाहरूले कृषि सामाग्री कम्पनी लिमिटेडबाट मल खरिद गरी सोझै किसानलाई बिक्री गर्नु पर्ने हो । तर शम्भु साह र रमेश साहलाई ऋषि बाल्मिकी कृषि सहकारी संस्थाले अनाधिकृत रुपमा मल उपलब्ध गराएको देखिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

घटनामा संलग्न फरार रहेका शम्भु साह र रमेश साहको खोजी भइरहेको छ । साहद्वयलाई कालो बजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्लिकमान्डु