सिटिजन्स बैंकको २ अर्ब ५० करोडको ऋणपत्र सबै बिक्यो



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले निष्काशन गरेको २ अर्ब ५० करोड बराबरको ऋणपत्र सबै बिक्री भएको छ । बैंकले यही पहिलो साता “१०.२५ प्रतिशत सिटिजन्स बैंक ऋणपत्र २०८६” नामक ऋणपत्र निष्काशन गरेको थियो ।

वार्षिक १०.२५ प्रतिशत व्याज रहेको ऋणपत्रमा मागभन्दा १२ करोड रुपैयाँ बढीको आवेदन परेको र आज बसेको बैंक सञ्चालक समितिको बैठकले ऋणपत्र बाँडफाँड गर्ने निर्णय गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले जानकारी दिए ।

बैंकले ऋणपत्र जारी गर्दा कोरोनाको प्रभाव देखिन थालिसकेको थियो । यस्तो अवस्थामा पनि निष्काशन गरेजति बिक्री हुनु अत्यत्नै सकरात्मक भएको सीइओ पोखरेलले बताए ।

ऋणपत्रको निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमइ क्यापिटल हो । क्यापिटलले आजै बाँडफाँड भएको सार्वजनिक गर्दैछ ।

यो ऋणपत्र १० वर्षका लागि हो । ऋणपत्रमा लगानी गर्नेहरुलाई बैंकले त्रैमासिकरुपमा ब्याज भुक्तानी गर्नेछ । बैंकले प्रतिइकाइ १ हजाररुपैयाँका अंकित मूल्यका दरले २५ लाख इकाइ ऋणपत्र निष्काशन गरेको थियो ।

राष्ट बैंकले २ प्रतिशत बफर क्यापिटल थपेर बैंकहरुको पुँजी पर्याप्तता अनुपात बढाइदिएको थियो । जसकारण बैंकहरुलाई थप पुँजी संकलन नगरी थप कर्जा विस्तार गर्नसक्ने अवस्था थिएन । त्यसकारण धेरै बैंकहरुले पुँजी संकलनको माध्यम ऋणपत्रलाई बनाएका हुन् ।


पुष्प दुलाल