हवाई कम्पनीले २५ लाख दिने, १ महिनाभित्र पैसा नतिरे कानूनी प्रक्रियामा जाने



काठमाडौं । वायु सेवा सञ्चालक संघले सरकारले स्थापना गरेको कोरोना कोषमा २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरसका कारण सिर्जना भएको संकट समाधानका लागि सरकारले स्थापना गरेको कोरोना कोषमा २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको संघका महासचिव योगराज कँडेलले जानकारी दिए ।

‘कोरोना भाइरसको महामारीका कारण सबैभन्दा बढी हवाई क्षेत्र नै प्रभावित भएको छ, यद्यपि सरकारलाई यस विषम परिस्थितीमा सहयोग गर्नुपर्ने भन्ने निर्णय भएकाले सबै हवाई कम्पनीले सक्दो उठाएर २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको छ,’ उनले भने ।

मंगलबार बसेको संघको बैठकले ग्राउन्डेड भएका विमान कम्पनीहरुको बीमा समितिमार्फत बीमा गराउनका लागि पहल गर्ने समेत निर्णय गरिएको छ ।

साथै यस विषम परिस्थितीमा विमान कम्पनीमा कार्यरत पाइलटको बेसिक स्यालरी ७५ हजारदेखि १ लाख २५ हजार रुपैयाँसम्म कायम गर्ने निर्णय भएको छ । साथै इन्जिनियरको हकमा ३५ हजार रुपैयाँदेखि ७५ हजार रुपैयाँ बेसिक स्यालरी कायम गर्ने निर्णय भएको छ ।

कँडेलका अनुसार कि पर्सनको स्यालरी २५ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँ र त्यसभन्दा तहका पदमा कार्यरत कर्मचारीको बेसिक स्यालरी सरकारको नियम अनुसार गर्ने निर्णय समेत गरिएको छ ।

संघको बैठकले विमान कम्पनीहरुले विभिन्न कम्पनी तथा संघ संस्थाबाट उठाउन बाँकी भएको सम्पूर्ण रकम १ महिनाभित्र भुक्तानीका लागि पत्रचार गर्ने समेत निर्णय भएको छ ।

‘विगत २ वर्षदेखि नउठेको रकम पनि एक महिना समय दिएर भुक्तानीका लागि पत्राचार गर्नेछौं, समयमा भुक्तानी नगर्नेविरुद्ध कानूनी प्रक्रियामा जाने निर्णय भएको छ,’ उनले भने ।


क्लिकमान्डु