नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त



काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले अधिकारीलाई गर्भनर बनाउने निर्णय गरेको हो ।

पूर्वडेपुटी गभर्नर अधिकारी अहिले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् ।

मन्त्रिपरिषद् बैठकले महाप्रसाद अधिकारीलाई गभर्नर बनाउने निर्णय गरेको ऊर्जामन्त्री वर्षमान पुनले क्लिकमाण्डूलाई जानकारी दिए ।

राष्ट्र बैंकमा ५ वर्षे कार्यकाल पूरा गरी डा. चिरञ्जीवि नेपाल चैत ४ गते राष्ट्र बैंकबाट बिदा भएका थिए । गभर्नर नियुक्तीको लागि मन्त्रिपरिषद्ले गत चैत ९ गते अर्थमन्त्री डा. युवराज खतिवडाकोे संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो ।

समितिका सदस्यमा पूर्वगभर्नर विजयनाथ भट्टराई र पूर्वसचिव कृष्णहरि बाँस्कोटा सदस्य थिए ।

सो सिफारिस समितिले डा. राजन खनाल र  महाप्रसाद अधिकारी र राष्ट्र बैंकका कामु गभर्नर चिन्तामणी शिवाकोटीको नाम गभर्नरका लागि सिफारिस गरेको थियो । सरकारले सिफारिस समितिले सिफारिस गरेमध्येबाटै अधिकारीलाई गभर्नरमा नियुक्ति गरेको हो ।

गभर्नर  अधिकारीले दर्जनौं आकांक्षीहरु र दुईजना प्रतिस्पर्धीलाई उछिन्दै मुलुकको केन्द्रीय बैंकको गभर्नर बन्ने अवसर पाएका हुन् । गभर्नरका रुपमा उनको कार्यकाल पाँच वर्ष रहने छ ।

मौद्रिक नीति तयार गरी कार्यान्वयन गर्नु र सरकारको सक्रिय आर्थिक सल्लाहकारको भूमिका निर्वाह गर्नु गभर्नरको मुख्य जिम्मेवारी हो । अब छापिने नयाँ नोटमा महाप्रसाद अधिकारीको  हस्ताक्षर हुनेछ ।


क्लिकमान्डु