स्वास्थ्यकर्मीको मनोबल बढाउँदै कोरोनाविरूद्ध हातेमालो गरौँः मन्त्री ढकाल



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नागरिका तर्फबाट हुने सहयोगले चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल बढाउन सहयोग पुग्ने बताएका छन् ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एनएमबी ग्रुप र नेपाल भारत मानवविकास मैत्री संघको तर्फबाट प्राप्त एक हजार थान व्यक्तिगत सुरक्षा सामाग्री (पिपिइ) बुझ्दै मन्त्री ढकालले यस्ता सहयोगले चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल उच्च हुने बताए ।

उनले सरकारले पनि चिकित्स र स्वास्थ्यकर्मीको मनोबल बढाउनका लागि भत्ता, बीमा र सुरक्षाको प्रबन्ध मिलाएको जानकारी दिए । उनले भने ‘कोरोनाको लडाइँमा फ्रन्टलाइनमा बसेर कामगर्ने स्वास्थ्यकर्मी र चिकित्सकको मनोबल बढाउन यस्ता सहयोगी मन र सामग्रीले बल पुर्याउँछ । सरकारले पनि मनोबल बढाउनका लागि विभिन्न काम गरेको छ ।’

उनले सरकारले एम्बुलेन्स चलाउनेदेखि उपचार कक्षामा रहेर कामगर्ने स्वास्थ्यकर्मीसम्मको मनोबल बढाउन बीमा र भत्ताको व्यवस्था बताउँदै सुरक्षाको पनि उचित प्रबन्ध गरिएको जानकारी दिए । मन्त्री ढकालले स्वाथ्यकर्मी र चिकित्सकलाई स्वास्थ्य सामग्री अभाव हुनै नदिने प्रतिबद्धता दोहोर्याए ।

उनले लामो समयदेखि सत्तामा विभिन्न दलहुँदा पनि नभएको काम आफूले विषम परिस्थितिकै बीचमा पनि गरेको बताए । मन्त्री ढकालले दीर्घकालीन रूपमा कामगर्न मिल्ने गरी प्रयोगशालाहरूको स्थापना गरिएको र सच्चालनमा ल्याइएको बताए । उनले भने ‘यतिलामो समयसम्म सत्ताको नेतृत्वमा विभिन्न दल भएपनि यो विषम परिस्थितिमा केन्द्रीय प्रयोगशालको सेवा सातै प्रदेशमा लैजाने काम व्यवहारमै गरेका छौँ ।’

एनएमबी ग्रुपले चीनबाट ल्याएको सात सय थान पिपिई हस्तान्तरण गरेको छ भने नेपाल भारत मैत्री विकास संघले नेपाल मै उत्पादन गरेको तीन सय थान पिपिई हस्तान्तरण गरेको छ ।

संकटको समयमा सरकारलाई सहयोग गर्नु निजी क्षेत्रको पनि कर्तव्य रहेको भन्दै दुबै संस्थाका प्रतिनिधिले थप सहयोगहरू उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् ।


क्लिकमान्डु