मागभन्दा आपूर्ती धेरै भएपछि भरी सिलिन्डर नै बिक्री गरिने, खाली सिलिण्डर नहुँदा बोटलिङमा समस्या



काठमाडौं । खाना पकाउने ग्यासका खाली सिलिण्डर नै नभएपछि नेपाल आयल निगमले पूर्ण क्षमतामा ग्यास बिक्रीको योजना बनाउने भएको छ ।

कोरोनाको सक्रमणको त्रासपछि ग्यास अभाव हुने अवस्थालाई ध्यानमा दिएर निगमले आधा सिलिण्डर मात्रै गयास दिने बताएको थियो ।

सोही अनुसारको नीति समेत लागू गरेको थियो । बजारमा खाली सिलिण्डर पाउन छाडेपछि निगम पुनः भरी सिलिण्डरमा नै फर्कनुपर्ने अवस्थामा पुगेको छ ।

ग्यास बिक्रेता महासंघले शुक्रबार नै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई तत्काल भरी सिलिण्डर नै ग्यास बिक्रीको व्यवस्था गर्न माग गरेका थिए ।

निगमले बजारमा दैनिक जसो नै १ लाख ३० हजार सिलिण्डर ग्यास पठाएको छ । निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलका अनुसार शुक्रबार मात्रै भारतबाट २५ वटा बुलेट काठमाडौं आएका छन् । यस्तै सोही मात्रामा गयास बुलेट बाटोमा छन् ।

निगमका अनुसार देशभर कूल १ करोड २० लाख सिलिण्डर छन् । काठमाडौँ उपत्यकालाई समान्य अवस्थामा दैनिक ४० हजार सिलिण्डर जरुरी पर्ने छ । घरमा रहेको सिलिण्डर बाहिर निकाल्न नसक्दा बोटलिङमा समस्या परेको छ ।

ग्यास बिक्रेता महासंघका अध्यक्ष महेश्वर श्रेष्ठले मन्त्रालयको प्रभावकारी निर्देशन र नेतृत्वका कारण हरेक डिपोमा ग्यास सहज रुपमा उपलब्ध भएको जानकारी दिए ।

उनले मन्त्रालय र निगमलाई तत्काल ग्यास वितरणको प्रक्रिया र भर्ने काममा पूरानै व्यवस्था लागू गर्न आग्रह गरेका छन् ।


क्लिकमान्डु