छत्रदेब गाउँपालिकामा राहत कोष स्थापना, जनप्रतिनिधिबाटै सहयोग शुरु



काठमाडौं । अर्घाखाँचीको छत्रदेब गाउँपालिकाले कोरोना भाइरसका कारण प्रत्यक्ष प्रभावित मजदुरलाई राहत वितरण गर्ने भएको छ । देशमा लकडाउन भएको र त्यसको प्रत्यक्ष प्रभाब सबैभन्दा धेरै ज्यालादारी मजदुरमा परेको भन्दै राहत कोष निर्माणको लागि बैंक खाता सञ्चालन गर्ने भएको हो ।

छत्रदेब गाउँपालिकाको गाउँ कार्यपालिकाको बैठकले कार्यविधिले तोके बमोजिमका ज्यालादारी मजदुरलाई राहत वितरण गर्ने निर्णय गरेको हो । उक्त कोषमा तत्कालका लागि जनप्रतिनिधिले रकम जम्मा गर्ने र कोषमा रकम बृद्धि गर्न विभिन्न उपाय अवलम्बन गर्ने निर्णय उक्त बैठकले गरेको छ ।

कोषलाई अघि बढाउन गाउँपालिका अध्यक्षले १५ हजार, गाउँपालिका उपाध्यक्षले १२ हजार ५ सय, वडाध्यक्षले १० हजार र गाउँ कार्यपालिका सदस्यले ६ हजार सहयोग गर्ने भएका छन । त्यसै गरी उक्त कोषमा गाउँपालिकाका कर्मचारीले कर्मचारीको बैठकको निर्णय अनुसार जम्मा गर्ने निर्णय भएको छ ।

त्यसै गरी उक्त कोषमा आवश्यकता अनुसार गाउँपालिकाको विपद ब्यवस्थापन कोषको रकम प्रयोग गर्न सकिने समेत निर्णय गरिएको छ । गाउँपालिकाले कोरोना राहत कोषमा अन्य इच्छुक दाताहरु, समाजसेवी, संघसंस्थाबाट प्राप्त रकम पनि जम्मा गर्ने भएको छ । गाउँपालिकाले इच्छुक दाताहरुलाई कोरोना कोषमा आफुसक्दो सहयोग गरी राहत वितरणमा सहयोग गर्न समेत अपिल गरेको छ ।


क्लिकमान्डु