अमेरिकामा कोरोना भाइरसले मर्नेको संख्या २ लाख नाघ्ने अनुमान, एकैदिन १ हजार व्यक्तिको मृत्यू
बाल्टिमोर । कोरोना भाइरसको कारण पछिल्लो २४ घण्टामा अमेरिकामा करिब १ हजार व्यक्तिको ज्यान गएको छ ।
यहाँको जोन्स हप्किन्स युभर्सीटी र सिएनएनको तथ्याङक अनुसार बुधबार साँझसम्म २४ घण्टामा ९ सय १७ जनाको मृत्यू भएको हो ।
यो कोरोना भाइरसको कारण एकै दिन ज्यान गुमाउनेहरुको अहिलेसम्मकै सबैभन्दा धेरै संख्या हो । यो संगै बुधबारसम्म ४ हजार ७ सय ४५ जनाको निधन भएको आधिकारी तथ्यांक सार्वजनिक भएको छ ।
बुधबारसम्ममा अमेरिकामा २ लाख १३ हजार बढी संक्रमित नाघेका छन् । सबैभन्दा धेरै न्युयोर्क राज्यमा २ हजार २ सय बढीको निधन भएको छ भने यो एउटै राज्यमा पुरै चीन भन्दा धेरै संक्रमितहरु भेटिएका छन् । न्यूयोर्कमा मात्रै बुधबारसम्ममा ८४ हजार व्यक्तिमा कोरोनाको संक्रमण देखिएको छ ।
एउटै ल्याबमा १ लाख ६० परिक्षण हुन बाँकी
अमेरिकामा हालसम्म करिब १३ लाख व्यक्तिको मात्र कोरोना भाइरसको रिपोर्ट आएको छ । यहाँको स्वास्थ्य अधिकारीहरुको अनुसार यस अगाडि नै नमुना संकलन गरिएको धेरैको रिपोर्ट आउन बाँकी छ । न्युजर्सीमा केन्द्रीय कार्यालय रहेको क्वेस्ट डाईग्नोस्टिकमा मात्रै १ लाख ६० हजार नमुनाको रिपोर्ट आउन बाँकी छ जुन १० दिनसम्म लाग्नसक्ने बताईएको छ ।
‘मार्च २५ सम्मको नमुनाको मात्रै रिपोर्ट आएको छ, त्यो पछिको रिपोर्ट आउनै बाँकी छ ।’ कम्पनी सम्बद्ध अधिकारीहरुले बताएका छन् । यो अमेरिकाकै ठूलो कोरोना टेस्ट गर्ने कम्पनी मध्येको एक हो ।
ट्रम्पले दोहोर्याएः ‘राष्ट्रिय लकडाउन गर्दिन’
यता कोरोनाको कारण खराब दिन व्यहोरिरहेको अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अमेरिकामा राष्ट्रिय लकडाउन नगर्ने अडान कायम राखेका छन् ।
विभिन्न स्वास्थ्य अधिकारीहरुको सल्लाहको बाबजुत पनि ट्रम्पले लकडाउन वा स्टे एट होम अर्डर जारी नगर्ने बताएका हुन । बुधबार आयोजित प्रेस व्रिफिङमा उनले राज्यहरुले आफ्नो हिसाबले स्टे एट होम अर्डर जारी गरिरहेकोले राष्ट्रिय स्तरमा यसको आवश्यकता नरहेको दोहो¥याए ।
‘कुनै राज्यमा धेरै फैलाएको छ भने कुनै राज्यमा निकै कम छ । यो हिसाबले सबै राज्यलाई लागू हुनेगरी लकडाउन गर्नु आवश्यक छैन ।’ ट्रम्पले भने ।
यद्यपी यहाँको ३३ बढी राज्यले राज्यस्तरमा भने स्टे एट होम अर्थात घरमै बस्ने निर्देशन जारी गरिसकेका छन् ।
एक महिनाभित्रै कोरोनाको औषधी तयार
यसैबीच अमेरिकाका स्वास्थ्य अधिकारीहरुले एक महिना भित्रै कोरोनाको औषधी तयार हुने बताएका छन् । अमेरिकाको ह्वाईट हाउसकी कोरोना भाइरस रेस्पोन्स प्रमुख डा. डेबोरा ब्रिक्सले एटिबडी टेस्ट अमेरिकाको सबै राज्य यही महिना उपलब्ध हुने बताईन ।
उनले सबैभन्दा पहिला यो औषधी अस्पतालहरुको सबैभन्दा चुनौतीपूर्णरुपमा अगाडि काम गर्ने स्वास्थ्यकर्मीहरुलाई प्रदान गरिने बताईन । उनले यो औषधी एक किसिमको एन्टिबडी भएको र यसले कोरोनासंगको प्रतिरक्षालाई विकास गर्ने बताईन् ।
तर, विश्लेषकहरुले भने यस्ता औषधीले रोग निको पार्ने नभई रोकथाम मात्रै गर्ने भन्दै औषधीको अवधी सकिएपछि पुन भाइरस सक्रिय हुन सक्ने चिन्ता व्यक्त गरेका छन् ।
२ लाख ४० हजारसम्मको मृत्यू हुनसक्छ: ह्वाईट हाउस
यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोनाको कारण मृत्यू हुनेको संख्या १ लाखमा सिमित राख्न सके राम्रो हुने बताएका छन ।
राष्ट्रपति कार्यालय ह्वाईट हाउसले कोरोनाको कारण १ लाख देखि २ लाख ४० हजारसम्म व्यक्तिको ज्यान जान सक्ने अनुमान गरेको समाचारहरु सार्वजनिक भएका बेला ट्रम्पले अबको दुई सातामा अमेरिकाले कहिल्यै नभोगेको चुनौतीको सामना गर्ने चेतावनी दिए ।
यसअघि भाइरसको विषयमा हल्का रुपमा लिँदै आएका ट्रम्पले यहाँको सामाजिक दुरी कायम राख्नेजस्ता राष्ट्रिय आपतकाललाई अर्को एक महिना थप गरेसंगै नयाँ धारणा प्रस्तुत गरेका हुन् । ट्रम्पले अप्रिल ३० सम्म स्वास्थ्य संकटकाल लम्ब्याएका छन् ।