लकडाउनमा माथिल्लो तामाकोशीले दिएको सकारात्मक सन्देश (फोटो फिचर )



काठमाडौं । कोरोनाको संक्रमण फैलने डरले सरकारले चैत २५ गतेसम्म लकडाउन गरेको छ । यो समयमा धेरै जसो नागरिक घर भित्रै बसेका छन् । कुनै पनि काम कारवाही भएका छैनन् । विकास निर्माणको काम भने ठप्प छ । तर दोलखाबाट लकडाउनको समयमा समेत खुसी दिने एउटा समाचार आएको छ ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँधस्थलमा पानी भरिएको छ । टन्न भरिएको पानीले आयोजनाको पछिल्लो अवस्थालाई सहजै देखाइदिएको छ ।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले उपलब्ध गराएका यी तस्विरमा आयोजनाले बाँध स्थलमा भरेका पानी कति मोहक र सुन्दर रहेको छ भन्ने देखाउँछ ।

कूल ४५६ मेगावाट क्षमताको आयोजनाको भौतिक निर्माणको काम ९९.४ प्रतिशत सकिएको छ । आयोजनालाई लकडाउनले त्यत्ति धेरै प्रभाव पारेको छैन । अत्यावश्यक काम भइरहेको छ ।

लकडाउन हुनु भन्दा एक दिन पहिले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतले आयोजनाको स्थलगत निरीक्षण गरेका थिए ।

आयोजनाको बाँध स्थल तथा बालुवा थिग्रयाउने पोखरीको परीक्षण जारी छ । हालसम्म प्राप्त विवरण अनुसार परिक्षण सफल भएको छ । आयोजना मुलुकको आर्थिक समृद्धिका लागि समेत महत्वपूर्ण ठानिएको छ । आयोजनाको बाँधमा जम्मा गरिएको पानीले इन्द्रसरोवरको झल्को दिएको छ । आयोजनाका कर्मचारीले केही दिन पहिले बाँधमा बोटिङ समेत गरेको तस्विरले देखाउँछ ।


क्लिकमान्डु