कोरोनाका कारण १५ वटा कम्पनीको साधारणसभा अझै अनिश्चित, सेयरधनीलाई तनाव



काठमाडौं । सञ्चालनमा रहेका १५ वटा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले अहिलेसम्म पनि साधारणसभा गर्न सकेका छैनन् ।

हाल २ वटा वाणिज्य बैंक, ४ वटा विकास बैंक ३ वटा निर्जीबन बीमा कम्पनी २ वटा जलविद्युत कम्पनी र ५ वटा माइक्रोफाइनान्सले साधारण सभा गरेका छैनन् ।

सूचिकृत कम्पनीहरुले आर्थिक वर्ष सकिएपछिको पुस मसान्तसम्ममा साधारणसभा सक्नुपर्ने वैधानिक व्यवस्था छ ।

कम्पनीहरुले समयमा नै साधारणसभा नगर्दा लगानीकर्ताहरु लाभांश पाउनबाट बन्चित बनेका छन् ।

कतिपय कम्पनीहरुले साधारणसभाको मिति नै तोकिसकेका थिए । तर, कोरोना भाइरसका कारण उक्त समयमा साधारणसभा गर्न सकेका छैनन् ।

शुरुमा सरकारले अहिले २५ जना भन्दा बढी एकै ठाँउमा नबस्न आग्रह गर्यो । र, त्यसपछि लकडाउनको घोषणा गर्यो । जसले साधारणसभा प्रभावित बनाएको छ ।

सेन्चुरी कमर्शियल बैंकले चैत १४ को लागि तय गरेको थियो । कोरोनाका कारण साधारणसभा स्थगन गरेको छ ।
यस्तै सिटिजन्स बैंकले पनि चैत १० गतेका लागि तोकेको साधारणसभा स्थगत गरेको छ ।

त्यसैगरी, चैत ७ गतेका लागि साधारणसभाको मिति तोकेको अपि अपी जलविद्युत आयोजनाले पनि अनिश्चितकालका लागि साधारणसभा स्थगन गरेको छ ।

त्यस्तै, चैत १० गतेका लागि साधारणसभाको मिति तोकेको सहयोगी विकास बैंक र चैत ८ गते साधारणसमा तोकेको मितेरी विकास बैंकको पनि साधारणसभा पनि स्थगित भएको छ ।

यस्तै एक्सेल डेभलपमेन्ट बैंकको साधारण सभा चैत २० गतेको लागि तोकिएको थियो । त्यसलाई पनि कोरोनाले असर गर्ने भएको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको साधारण सभाका लागि चैत ३० गतेको समय तोकेको छ । त्यो पनि प्रभावित हुने निश्चित छ ।

त्यसैगरी, निर्जीबन बीमा कम्पनीहरुमा पनि केहीको साधारण सभालाई समस्या हुने देखिएको छ ।

अझै पनि नोको इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, नेपाल इस्योरेन्सको साधारणसभा हुन बाँकी रहेको छ । नेपाल इन्स्योरेन्सको साधारणसभाको लागि चैत २१ गतेको लागि तोकिएको थियो । उक्त साधारण सभा स्थगित हुने निश्चित छ ।

यस्तै सिद्धार्थको चैत २८ र नेकोको वैशाख १ गतेको लागि तोकिएको छ । ती पनि प्रभावित हुने निश्चित छन् ।

माइक्रोफाइनान्सतर्फ जनउत्थान सामुदायिक, एनएमबी माइक्रोफाइनान्स, महिला सहयात्रा, स्वदेशी लघुवित्त, वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाको साधारणसभा अझै बाँकी नै छ ।

वोमीको चैत १६ गतेको र स्वदेशी लघुवित्त वित्तीय संस्थाको चैत १७ गतेको साभारणसभा स्थगित भएको छ ।

त्यस्तै, महिला सहयात्राको चैत २२ गते, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था चैत २६ गते र जनउत्थान सामुदायिक लघुवित्तको चैत २७ गतेको लागि साधारण सभाको मिति तोकिएको थियो । उनीहरुको पनि साधारणसभा रोकिने निश्चित छ ।

त्यसैगरी, हाईड्रोपावरको चैत २८ गते हुने भनिएको साधारणसभा पनि स्थगित हुने निश्चिन छ ।

यी कम्पनीको साधारणसभा अनिश्चितकालका लागि स्थगित भएको हो । साधारणसभा स्थगित भएसँगै यी कम्पनीका सेयरधनीले कम्पनीले घोषणा गरेको लाभांश पाउने समय पनि अनिश्चित भएको छ ।


पुष्प दुलाल