कोरोनाः स्वास्थ्यकर्मीहरु नै विरामी पर्न थालेपछि समस्या जटिल बन्दै



काठमाडौं । कोरोना संक्रमणले थला परेको अमेरिकाको न्यूयोर्कमा स्वास्थ्यकर्मीहरुको मृत्यु र विरामी पर्न थालेपछि समस्या झन् जटिल बनेको छ ।

इन्टेन्सिभ केयर युनिटका आधाभन्दा धेरै स्टाफहरु कोरोनाभाइरसका कारण विरामी परेपछि फ्रन्ट लाइनमा भोलुन्टियर भइ काम गरिदिन विभिन्न मेडिकल युनिभर्सिटिका सर्जनहरुलाई अनुरोध गरिएको छ । कोलम्बिया विश्वविद्यालयका सुपरभाइजरले सर्जनहरुलाई फ्रन्ट लाइनमा भोलुन्टियर भइ काम गर्न अनुरोध गरेका हुन् ।

ज्याकोबी मेडिकल सेन्टरका नर्सहरु सुरक्षात्मक सामग्री नभएको भन्दै आन्दोलनमा उत्रिएका छन् । एन९५ माक्स समेत नभएको उनीहरुको गुनासो छ । न्यूयोर्क सिटी अस्पतालमा मात्रै २ सय जनाभन्दा धेरै कामदारहरु विरामी भइसकेका छन् भने २ जना नर्सको निधन भएको छ ।

आफुसँगै काम गर्ने साथीहरु कोरोनाका कारण विरामी हुन थालेपछि सबै कामदारहरु चिन्तित रहेका छन् । कोरोना संक्रमित एक जना नर्सले आफुलाई हत्या गर्ने ठाँउमा पठाएको अनुभब भएको बताएकी छिन् ।

कोरोना भाइरसका कारण चीनमा ३ हजारभन्दा धेरै डाक्टरहरु संक्रमित भएका थिए । कोरोना भाइरसले ल्याउन सक्ने समस्याबारे पहिलो पटक बोल्ने डाक्टरको मृत्यु भएको थियो ।

त्यसैगरी इटालीमा संक्रमित स्वास्थ्यकर्मीहरुको संख्या चीनको कूल संख्याभन्दा दोब्बर पुगेको एजेन्सीहरुले उल्लेख गरेका छन् । स्पेनमा पनि कोरोना संक्रमितहरुमध्ये १४ प्रतिशत मेडिकल प्रोफेस्नलहरु रहेका छन् ।

गत हप्ता न्यूयोर्कमा दुई जना नर्सहरुको मृत्यु भएको थियो । उनीहरु न्यूयोर्कमा मृत्यु हुने पहिलो २ स्वास्थ्यकर्मी हुन् ।


पुष्प दुलाल