सहकारी बैंक, सहकारी संस्था आंशिक खोल्न मन्त्रीको निर्देशन
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी अभियन्ताहरुसँग कोरोना न्यूनिकरणको लागि सहकारी अभियन्तासँग छलफल गरेकी छिन् ।
राष्ट्रब्यापी रुपमा मजबुत नेटवर्क भएको सहकारी संस्थाका विषयगत केन्द्रीय संघका अध्यक्षहरुसँग छलफल गर्दै मन्त्री अर्यालले राष्ट्रिय रुपमा आएको संकटमा अधिकतम उपयोग गर्न निर्देशन दिएकी छिन् ।
मन्त्री अर्यालले सहकारी संस्थाद्वारा सञ्चालित सहकारी स्वास्थ्य अस्पतालहरुको अधिकतम परिचालन गर्न, सहकारी स्वास्थ्य संस्थाहरुबाट चलाइएको एम्बुलेन्सहरु बिरामीको ओसारपसारमा परिचालन गर्न निर्देशन दिएकी छिन् ।
मन्त्री अर्यालले स्थानीय प्रशासनसँग समन्वय गर्दै सहकारी बैंक, सहकारीहरु आंशिक रुपमा खोलेर जीविकोपार्जन, औषधोपचार जस्ता सेवाहरु प्रवाह गर्न निर्देशन दिएकी छिन् । आफ्ना सेयर सदस्यहरुको स्वास्थ्यलाई ध्यानमा राखेर आफू पनि बचेर सेयर सदस्यहरुलाई सचेतनामूलक कार्यक्रम मार्फत सचेत गराउन समेत मन्त्री अर्यालले निर्देशन दिएकी छिन् ।
कोरोनाको संक्रमणका कारण मुलुक लकडाउनको अवस्थामा रहेका सन्दर्भमा मन्त्री अर्यालले मुलुक अहिले संकटमा रहेको भन्दै यस्तो विपद्को बेलामा सहकारी क्षेत्रको सहयोग अमूल्य रहने उनको भनाई छ । यसअघि आइतबार सहकारी विभागले विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ को संक्रमणबाट मानव जीवनको रक्षाका निम्ती सहकारी संस्थाहरुलाई ६ बुँदे परिपत्र गरिसकेको छ ।
त्यस अवसरमा यो परिस्थितीमा आउँदै गरेको राष्ट्रिय सहकारी दिवस कसरी मनाउने भन्ने सन्दर्भमा छलफल भएको थियो । बैठकले राष्ट्रिय सहकारी महासंघका बरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लको संयोजकत्वमा दिवस मनाउनका लागि व्यवस्थापन समिति गठन गरेको छ । समितिको सदस्यहरुमा परितोष पौडेल, खेम पाठक, केबी उप्रेती, सुरेन्द्र भण्डारी, नारायण देवकोटा, ज्ञानबहादुर तामाङ, माधव दुलाल, केदार खड्का रहेका छन् ।