चैत भरी लकडाउन गर्ने प्रस्ताव, मन्त्रिपरिषद्ले निर्णय गर्ने



काठमाडौं । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि लकडाउनको अवधि बढाएर चैतभरी लागू गर्ने प्रस्ताव गरिएको छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको आइतबार बसेको बैठकले लकडाउनको अवधि बढाउने प्रस्ताव गरेको हो ।

यसअघि चैत ११ गतेदेखि १८ गतेसम्मका लागि तोकिएको लकडाउनको अवधि बढाएर चैत महिनाभरी कायम राख्ने प्रस्तावलाई मन्त्रिपरिषदले निर्णय गरेपछि लागू हुने प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीले जानकारी दिए ।

हवाई उडान बैशाख ३ गतेसम्म बन्द गर्ने निर्णय

विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढिरहेका बेलामा नेपालमा पनि हालसम्म ५ जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ ।

जसमध्ये १ जना उपचारपछि निको भइसकेका छन् भने बाँकी ४ जनाको उपचार भइरहेको छ । जसमध्ये राजधानीको टेकुस्थित अस्पतालमा २ जना, पोखरामा १ जना र १ जनाको धनगढीमा उपचार भइरहेको छ ।

विश्वस्तरमा हेर्ने हो भने कोरोना संक्रमितको संख्या साढे ६ लाख ६८ हजारभन्दा बढी पुगिसकेको छ भने हालसम्म ३१ हजार जनाले ज्यान गुमाइसकेका छन् । साथै १ लाख ४२ हजार जना उपचारपछि निको समेत भइसकेका छन् ।


क्लिकमान्डु