अब वेबसाइट, मोबाइल र भाइबरबाट कोरोनाबारे सबै जानकारी पाइने



काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस नियन्त्रण तथा रोकथामको काम व्यवस्थित गर्नको लागि सबै काम वेवसाइटबाट गर्ने निर्णय गरेको छ ।

मन्त्रालयले कोभिड१९ डट एमओएचपी डट जिगोभी डट एनपी र हाम्रो स्वास्थ्य मोबाइल एप सञ्चालनमा ल्याएको छ । आइतबार स्वास्थ्य मन्त्री भानुभक्त ढकालले वेवसाइट र एपको शुभारम्भ गरेका छन् । मन्त्रालयले एपसँगै कोभिड-१९ को सूचना प्राप्त गर्न सहजहोस भनेर सबैको पहुँचका लागि भाइबर कम्युनिटी पनि प्रयोगमा ल्याएको छ ।

शुभारम्भसँगै मन्त्री ढकालले कोरोना भाइरसबिरुद्ध लड्नका लागि उपलब्ध स्वास्थ्य सेवाहरुको अवस्था र बिवरणका साथै कोरोनाबारे एकीकृत रूपमा सही जानकारी तथा सूचना उपलब्ध गराउन यस्तो व्यस्था मिलाइएको बताए । उनले सरकारले कोरोनाविरूद्ध उच्च सतर्कताका साथै काम गरिरहेकोले नआत्तिन अनुरोध गरे । उनले नयाँ वेबसाइट, मोबाइल एप र भाइबर क्म्युनिटीको उपयोग गरेर लाभ लिन सबैमा अनुरोध पनि गरे ।

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको तत्काल जानकारी सहित सम्पूर्ण सूचनाहरु आम नागरिक माझ सहझ रुपले पुर्याउने उद्देश्यका साथ मन्त्रालयले प्रोगेशिभ इन्जिनियरिङ एशोसियसन नेपाल, नक्सा, सोच नेपाल, कोड फर कोर इनोभेसन, आइटी म्याप्ससँग समन्वय गरेर वेब एम्लिकेशन तयार पारेको जनाएको छ ।

तत्कालका लागि कोभिड १९ डट एमओएचपी डट जिगोभी डट एनपी बाट मोबाइलमा एप्स डाउनलोड गरी हेर्न सिकने व्यवस्था मिलाइएको छ । एमओएचपी नेपाल कोभिडमा गएर भाइबर कम्युनिटीमा जोडिन सकिन्छ । वेवसाइटमा हव अस्पताल, कोभिड-१९ लक्षित अस्पताल र क्वारेन्टाइनको लोकेशन र अवस्थासहितको जानकारी पाइने छ । त्यस्तै आइसोलेसन बेडहरूको जानकारी समेत सबैले जहाँसुकैबाट हेर्न सक्नेछन । यसबाट कोरोनाको लक्षणहरू आफैँले मूल्यांकन गर्न समेत सकिने छ भने मूल्यांकनको नतिजा तत्कालै हेर्न सकिने उल्लेख छ ।


क्लिकमान्डु