मंगलबारदेखि सेयर बजार खोल्ने विषयमा छलफल गर्न धितोपत्र बोर्डले बैठक बोलायो



काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले सेयर बजार लगानीकर्ताकै भएकाले उनीहरुको हित विपरीत कुनै पनि काम नहुने बताएका छन् । बोर्डले गर्ने निर्णय लगानीकर्ताको हित अनुकुल नै हुने उनको तर्क छ ।

आगामी मंगलबार देखि सेयर बजार खोल्ने वा नखोल्ने भन्ने विषयमा टुंगो लागि नसकेकोले सोमबार यो विषयमा सेयर लगानीकर्ता, नेपाल स्टक एक्सचेन्ज (नेप्से), धितोपत्र दलाल व्यवसायी, मर्चेन्ट बैंकर्ससँग छलफल गरेर कसरी अघि बढ्ने भन्ने निर्णय लिने बताए ।

क्लिकमान्डूसँग कुरा गर्दैै उनले बजार खोल्ने वा तत्कालको लागि नखोल्ने भन्ने विषयमा सोमबार मात्रै निर्णय हुने बताए ।

उनले लगानीकर्ताको लगानीलाई बन्धक बनाउ नहुने भन्दै मंगलबारदेखि अनलाइनबाट कारोबार भएको खण्डमा ठूला कारोबार नभएपनि स-साना कारोबार हुने सम्भावना रहेको बताए ।

बजारको विषयमा अहिले नै कुनै निर्णय नभएपनि बजार खुलेमा केही घन्टाको लागि खुल्न सक्ने इंगित गरे । सामान्य अवस्थामा जस्तो पूर्णसमय (५ घन्टा) कारोबार हुने नसक्ने अध्यक्षको भनाइ छ ।

अहिले अर्थ मन्त्रालयको चाहना पनि केही समय बजार खोल्ने र अनलाइनबाट कारोबार होस भन्ने चाहना रहेको भन्दै त्यो विषयमा सोमबार छलफल हुने बताए ।

अहिले लगानीकर्ता ब्रोकर कार्यालयमा जान सक्ने अवस्था नरहेको भन्दै उनले लगानीकर्ता सेयर कारोबार गर्न चाहेको खण्डमा अनलाइनबाट कारोबार गर्न सक्ने व्यवस्था मिलाउने बताए ।

लगानीकर्ताहरुले अनलाइनबाट कारोबार गरेको खण्डमा ब्रोकर कार्यालयमा जान नपर्ने उनको तर्क छ । बोर्डका अध्यक्ष ढुंगानाको उक्त प्रस्तावमा अन्य निकाय सहमत भएको खण्डमा अनलाइनबाट कारोबार हुनेछ ।

लगानीकर्ताले गर्ने कारोबार घरबाट नै हुनेछ । र, १०औं हजार, २०औं हजार कित्ता सेयर कारोबार भने हुँदैन हुँदैन । सानो सानो कित्ता मात्रै कारोबार हुने छ ।

अहिले लगानीकर्ताहरुको उठाएको विषय राम्रो भएकोले त्यो विषयमा छलफल अध्ययन आवश्यक रहेको बताए ।

यता सेयर लगानीकर्ताहरु भने अहिले नेप्सेको अनलाइन प्रणाली प्रभावकारी नरहेको भन्दै अनलाइनबाट कारोबार गर्न नसक्ने भन्दै आएका छन् ।

लगानीकर्ताहरुले अहिलेको अवस्थामा बजार खोल्नुभन्दा पनि बन्द गर्नु राम्रो हुने बताउँदै आएका छन् । सबै लगानीकर्ता घरबाट नै कारोबार गर्न नसक्ने र ब्रोकर कार्यालयहरु पनि यति बन्द रहेकाले बजार खोल्न नहुने उनीहरुको भनाइ छ ।

यता धितोपत्र दलाल व्यवसायीहरुले पनि अहिलेको अवस्थामा बजार खोल्नु भन्दा पनि बन्द गर्न आवश्यक भएको बताउँदै आएका छन् ।

अहिलेको मुख्य विषय मान्छेको ज्यान जोगाउनुपर्ने भएकाले तत्कालको लागि कारोबार स्थगन गर्दा राज्यलाई कुनै पनि फरक नपर्ने ब्रोकरहरुको तर्क छ ।

अनलाइन कारोबारमा धेरै लगानीकर्ता समावेश नभएकोले केहीको लागि मात्रै बजार खोल्ने केहीले कारोबार गर्न नपाउनु राम्रो नहुने ब्रोकरहरुको भनाइ छ । सरकारले लकडाउन गरेको समयमा सरकारको निर्णयलाई साथ दिन आवश्यक रहेको ब्रोकरहरुको भनाइ छ ।


पुष्प दुलाल