प्रचण्डले भने- संकटको समयमा निजी क्षेत्रले मन फुकाएर सहयोग गर्नुपर्यो (भिडियोसहित)



काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संकटको समयमा गरिब, असाहयहरुको सहयोगमा मुट्ठी फुकाएर सहयोग गर्न निजी क्षेत्रका व्यवसायीहरुसँग अपिल गरेका छन् ।

उनले संकटको समयमा गरिने सहयोगले मात्रै निजी क्षेत्रको साख र विश्वास समेत बढ्ने विश्वास व्यक्त गरेका छन् ।

अध्यक्ष दाहालले जोड दिँदै भनेका छन्- दैनिक ज्याला गरेर जिवीकोपार्जन गर्नुपर्ने निम्न वर्गीय श्रमजीवी जनताको खाद्यान्न लगायतको व्यवस्थापनमा आवश्यक राहत र विशेष सहयोगको प्याकेज निर्माणमा सरकारको ध्यान जाने नै छ ।

नेपाल सरकार र आम जनताले कोरोना विरुद्धको लडाईमा देखाएको सावधानी प्रति धन्यवाद दिँदै थप सतर्क हुन आग्रह गरेका छन् ।

अध्यक्ष दाहालले शनिबार एक भिडियो सन्देश दिँदै विश्वलाई नै चुनौती दिएको यस महामारीबाट हामी छिट्टै मुक्त हुने र मानव जाती तथा राष्ट्रको एकता र उच्च मनोबलले हामी विजयी हुने दृढ विश्वास समेत व्यक्त गरेका छन् ।

सरकारले कोरोना नियन्त्रणमा अपनाएको सार्थक प्रयासको विशेष धन्यवाद दिँदै उनले भने– विश्व स्वास्थ्य संगठनले समेत नेपाललाई उच्च जोखिममा रहेको देशका रुपमा चित्रण गरेको सन्दर्भमा म नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकार तथा नेकपाका सबै तहका नेता तथा कार्यकर्तालाई स्वयमसेवीका रुपमा यस संकटको घडीमा परिचालित हुन र कोरोना विरुद्धको लडाईमा सावधानीपूर्वक नेतृत्व गर्न आग्रह गर्दछु ।

कोरोना भाइरसका कारण आजसम्म संसारभरका करिब ६ लाख मानिस प्रभावित भएका छन् भने २७ हजार बढीको मृत्यु भएको छ । विश्व महामारीको कारण निधन भएका नागरिकप्रति श्रद्धान्जली व्यक्त गर्दै अध्यक्ष दाहालले शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

नेपालमा सक्रमण भएका नागरिकरको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै अध्यक्ष दाहालले विश्वव्यापी महामारी बनेको बनेको कोरोना जस्तो घातक भाइरसको विरुद्ध सचेततापूर्वक सावधानी अपनाउन समेत आग्रह गरेका छन् ।

उनले अगाडि भनेका छन्- ‘सचेत नागरिक र आम सञ्चार माध्यमको जिम्मेवारपूर्ण र सचेततापूर्वकको पहल एवम् शिक्षाले नै जोखिममा पर्नबाट जोगिन सकिन्छ भन्ने तथ्यलाई गहिरो तरिकाले आत्मसात गर्न समेत विशेष आग्रह गर्न चाहन्छु ।”

अध्यक्ष दाहालले कोभिड १९ को सक्रमणविरुद्ध विजय प्राप्त गर्नका लागि नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले जारी गरेका आधिकारीक निर्देशन तथा आचारसंहिताको पालना गर्दै हरेक नागरिक र परिवारले घरमै बसेर आफ्नो र आफ्नो परिवारको अमूल्य जीवन रक्षाका गर्न र त्यस मार्फत देश र दुनियाँको रक्षामा योगदान गर्न सबैसँग अपिल गरेका छन् ।

कोरोना भाइरस विरुद्धको लडाईको अग्रमोर्चामा रहेर जोखिम उठाउने चिकित्सक, स्वास्थ्यकर्मी, र सुरक्षा निकायको मनोबल उच्च राख्न आवश्यक उत्प्रेरणा उच्च राख्न सातै प्रदेशमा उपकरणको व्यवस्थामा राज्यका तर्फबाट थप जोड दिन आवश्यक रहेको उनको भनाइ छ ।

अध्यक्ष दाहालले व्यक्तिगत रुपमा साबुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने, हात नमलिाउने, हाछिऊ गर्दा रुमालको प्रयोग गर्ने, आवश्यकता अनुसार मास्क प्रयोग गर्ने, र सरकारले घोषणा गरेको लकडाउनलाई पालना गर्दै घरमै बस्न र अनुशासनमा रहन आम जनसमुदायसँग अनुरोध गरेका छन् ।

उनले भनेका छन् -‘चिकित्सकहरुका अनुसार चर्को ज्वरो, थकान, र श्वासप्रश्वासमा अप्ठ्यारो भए कोविड १९ को परिक्षण गर्नुपर्दछ ।’

आजसम्म चार जना नेपालीमा त्यो रोगको सक्रमण देखिएको र उहाँहरुको स्थिती सामान्य रहेकाले आत्तिनुपर्ने अवस्था नभएको भएपनि चीन, कोरिया, इटाली, अमेरिका जस्ता मुलुकबाट पाठ सिकेर उच्च सकर्तकता अपनाउन विशेष ध्यान दिनै पर्ने बताएका छन् ।

कोविड १९ विरुद्धको मोर्चामा अग्रपंक्तिमा रहेर क्रियाशिल हुने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी र आम सञ्चारकर्मीको क्रियाशिलताको अध्यक्ष दाहालले उच्च प्रशंसा गरेका छन् ।

उनले भनेका छन्- आम सञ्चार माध्यमले यथोचित र संयमित भएर यथोचित सूचना र स्वास्थ्य शिक्षा जनतामा पु¥याउने कामलाई पक्कै पनि सबैभन्दा बढी ध्यान दिनुहुनेछ भन्ने मेरो विश्वास छ ।


पुष्प दुलाल