कोरोनाबाट उत्पन्न आर्थिक संकटसँग जुध्न अमेरिकामा स्वीकृत भयो इतिहासकै ठूलो राहत प्याकेज



बाल्टिमोर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरससँग जुध्न र अमेरिकी अर्थतन्त्र जोगाउन भन्दै शुक्रबार २ ट्रिलियन डलर (२० खर्ब डलर) को राहत प्याकेजमा हस्ताक्षर गरेका छन् ।

कोरोना भाइरसको महामारी र यसपछिको संकटग्रस्त आर्थिक क्षेत्रको राहतको लागि संसदले पारित गरेको राहत प्याकेजलाई ट्रम्पले शुक्रबार अनुमोदन गरेका हुन् ।

यहाँको संसदले शुक्रबार सबेरै उक्त राहत प्याकेज पारित गरेको थियो । यो राहत प्याकेजलाई अमेरिकाको ईतिहाँसमै एकै पटक ल्याइएको सबैभन्दा ठूलो राहत प्याकेज भएको बताइएको छ ।

संसदमा राहतको विषयमा केही विमति भएको कारण यो प्याकेजमाथिको छलफल केही लम्बिएको थियो । विशेषगरी डेमोक्र्याट दलले प्रतिपरिवार दिनुपर्ने राहत बढाउनुपर्ने माग राखेका थिए भने राष्ट्रपतिको पार्टी रीपब्लिकन दलले व्यवसायलाई दिनुपर्ने राहतमा जोड दिएका थिए ।

शुक्रबार ल्याइएको योजनामा प्रत्येक अमेरिकी करदातालाई एकमुष्ट नगद अनुदान दिने उल्लेख गरिएको छ त्यस्तै वेरोजगार भत्ता, अतिरिक्त स्वास्थ्य क्षेत्र सुधारको लागि बजेट तथा कारोना भाइरसको कारण प्रभावित साना तथा मझौंला व्यवसायलाई राहत दिने उल्लेख गरिएको छ ।

संसदकी प्रवक्ता न्यान्सी पोलोसीले तत्कालको लागि राहतकोरुपमा यो योजना पारित गरिएको र भविष्यमा अर्थतन्त्र सुधारको लागि अरु योजनाको विषयमा पनि छलफल हुने बताइन् ।

यता राष्ट्रपति ट्रम्पले भने इतिहासमै ठूलो राहत योजना ल्याएको र यसले अर्थतन्त्र तथा श्रमजिवी अमेरिकनहरुलाई ठूलो राहत मिल्ने बताए ।

‘मैले एकै पटकमा दिइएको राहत प्याकेज मध्येकै सबैभन्दा ठूलो प्याकेजमा हस्ताक्षर गरेको छु,’ शुक्रबार राहत योजनामा हस्ताक्षरपछि उनले भने ।

ट्रम्पले राहत योजनामा हस्ताक्षर गर्दै गर्दा उच्च आर्थिक सल्लाहकार तर रिपब्लिकन पार्टीका तर्फबाट संसद प्रमुखहरु एक साथ उभिएका थिए ।

‘यो योजनाले प्रत्येक अमेरिकी परिवार, श्रमजीवि र व्यवसायीहरुलाई ईमर्जेन्सी रुपमा तत्कालको लागि राहत मिल्ने छ,’ ट्रम्पले भने, ‘दुई ट्रिलियनको यो योजना सबैको हितमा केन्द्रीत छ’

ट्रम्पले राहत योजनामा शुक्रबार हस्ताक्षर गरेपनि कति छिटो यो योजनामा कार्यन्वयनमा आउँछ भन्ने प्रष्ट छैन । कोरोना भाइरसको महामारीको कारण अमेरिका बेरोजगारी दर उच्च छ । र, साना व्यवसायीक ऋणको माग समेत ह्वात्तै बढेको छ ।

यद्यपी ह्वाईट हाउस र संसदीय प्रमुखहरुले कम आय हुने अमेरिकनहरुले तिन हप्ताभित्रै प्रतिव्यक्ति १२ सय डलर सिधै प्राप्त गर्न सक्ने बताएका छन् ।

कोरोना भाइरसको कारण अमेरिकामा वेरोजगारीदर ह्वात्तै बढेको तथ्यांकहरु आइरहेका छन् । अमेरिकामा करिब ३३ लाख वेरोजगारी भएको तथ्यांक आएको एकदिनपछि ट्रम्पले उक्त राहत प्याकेजमा हस्ताक्षर गरेका हुन् । यस्तै देशैभरीका अधिकांश व्यवसायहरु कोरोना भाइरसको महामारी फैलिन रोक्न भन्दै बन्द गरिएका छन् ।

अतिआवश्यक बाहेकका व्यवसाय बन्द गरिएको छ भने धेरै राज्यले कामदारहरु घरमै बस्न निर्देशन दिएका छन् । यता अस्पतालहरुले कारोना भाइरस प्रभावितको उपचारको लागि भन्दै अतिरिक्त सामाग्रीको माग गरिरहेका छन् । यी सबैलाई समेट्नेगरी ह्वाइट हाउसले एकमुष्ट राहतको योजना ल्याएको हो ।

अमेरिकामा अहिलेसम्म १ लाख भन्दा बढी कोरोना भाईरस संक्रमित पुगिसकेका छन् । यो संख्या संसारका अन्य देशहरुमा भन्दा बढी हो ।
शुक्रबार साँझसम्म कोरोना भाइरसकै कारण १ हजार ५ सयभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ । पहिल्लो १० दिनमा यहाँको न्यूयोर्कलगायतका राज्य कोरोनाको कारण आक्रान्त छ ।

कसरी बाँडिन्छ अमेरिकामा नगद ?

कोरोना भारइरस प्रभावितको राहतको लागि भन्दै अमेरिकी सरकारले नगद अनुदानको योजना ल्याएपछि यहाँको ट्रेजेरी विभाग रकम व्यवस्थापनमा जुटेको छ ।

टे«जेरी विभागका सेक्रेटरी स्टेभेन म्नुचिनले जानकारी दिएअनुसार दुई देखि तीन हप्ताभित्र अनुदानको रकम चेक र डाइरेक्ट डिपोजिटको माध्ययमबाट घर घरमा पठाइने छ । यसको लागि यहाँको राजश्व विभागलाई जिम्मा लगाईएको बताइएको छ ।

पारित राहतमा प्रतिपरिवार ७५ हजार डलरभन्दा कम आम्दानी हुने परिवारलाई प्रतिव्यक्ति १२ सय डलर र ७५ हजार भन्दा माथी ९९ हजार सम्म आम्दानी हुनेलाई ७५ पछिको प्रतिहजार ५० डलर कट्टी गरि रकम प्रदान गरिने योजनामा उल्लेख छ ।

यो रकम सन् २०१९ वा २०१८को आय व्यव विवरण हेरेर प्रदान गरिने छ । यसको अतिरिक्त बालबच्चा भएको परिवारले प्रतिबच्चा ५ सय डलर अतिरिक्त प्राप्त गर्ने छन् । यो रकम अवको दुई देखि तीन हप्तामा विवरण गरिने र बढीमा डिसेम्बरसम्म प्रदान गरिसक्ने उल्लेख गरिएको छ ।

अमेरिकी नागरिकसँग छैन बचत

यस अगाडि गरिएको एक अध्ययनमा करिब ४० प्रतिशत अमेरिकी नागरिकसंग ४ सय डलर (करिब ४० हजार रुपैयाँ) पनि आपतकालिन खर्चको लागि बचतमा नरहेको देखाईएको थियो । फेडरल रिजर्भले २०१८ मा गरेको अध्ययनमा सहभागि धेरैजसो नागरिकले आवश्यक परे मात्र कमाउने गरेको र बचतमा पैसा नभएको जानकारी दिएका थिए ।

अध्ययन अनुसार करिब ४१ प्रतिशत अमेरिकीसंग १ हजार डलर (करिब १ लाख रुपैया) आपतकालिन खर्च गर्न सक्ने क्षमता रहेको देखाईएको थियो । यहाँको २१ प्रतिशत जनसंख्यासंग बचत खाता नै नभएको (अमेरिकामा चल्ती र बचत फरक फरक राख्ने कोसिस गरिन्छ) देखाइएको थियो ।


पुष्प दुलाल