साइप्रसमा अलपत्र परेका विद्यार्थीलाई प्रतिव्यक्ति ३०० यूरो पठाउन दिइने



काठमाडौं। विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण साइप्रसमा अलपत्र परेका विद्यार्थीलाई प्रतिव्यक्ति ३०० यूरोका दरले पठाउन दिइने भएको छ । साइप्रसमा १२ हजार नेपाली विद्यार्थी छन् जसमेध्ये धेरैले नो अब्जेक्सन लेटर (एनओसी) नलिइ गएका विद्यार्थीहरु पनि छन् ।

कोरोना भाइरसका कारण साइप्रस ठप्प छ । नेपालबाट विद्यार्थी भिसामा गएकाहरुले काम नपाएर अलपत्र परेका छन् । त्यस्ता अलपत्र परेका विद्यार्थीलाई प्रतिव्यक्ति ३०० यूरोका दरले नेपालबाट रकम पठाउन सकिने व्यवस्था गरिएको नेपाल राष्ट बैंकको वैदेशिक विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले जानकारी दिए ।

मिश्रले आज एक परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो । साइप्रसमा रहेका नेपालीहरुको अवस्था गंभीर रहेको भन्दै इजरायलस्थित नेपाली दूताबासले परराष्ट मन्त्रालयलाई पत्र लेखेपछि र परराष्टले शिक्षा मन्त्रालयसँग सल्लाह गरी यस्तो व्यवस्था गर्न राष्ट बैंकलाई लेखी पठाएका थिए ।

दूतावासले ३०० युरोका दरले उपलब्ध गराउन सकिए साइप्रसमा रहेका नेपालीहरुलाई एक महिना खान बस्न पुग्नेछ ।

यसरी पठाएको रकमको बेनिफिसरी साइप्रसमा रहेको नेपाली विद्यार्थी हुनु पर्ने र विद्यार्थीको निर्वाह शुल्क वापतको रकम पठाउँदा निज सायप्रसमा रहेको अध्ययन गरिरहेको कागजात सहित बैंक तथा वित्तीय संस्थामा परिवारले निवेदेन पेश गर्नुपर्ने राष्ट बैंकको निर्देशनमा उल्लेख छ ।

सटही सुविधा माग गर्ने ब्यक्तिले अन्य बैंकबाट यस प्रकारको सटही सुविधा नलिएको स्वघोषणा गर्नु पर्छ। यस्तो रकम दूरुपयोग भएको पाइएमा सम्बन्धित अभिभावक र आफन्त जिम्मेवार हुने छ। कार्यकारी निर्देशन मिश्रले बताए ।


पुष्प दुलाल