प्राधिकरणले भन्यो- निजी विद्युत् उत्पादकलाई कोरोनाका कारण बिल भुक्तानी गर्न सक्दैनौ



काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले कोरोना भाइरसको सक्रमण फैलन सक्ने अवस्थालाई मध्यनजर गरी विद्युत् खरिद बिक्री सम्झौता अनुसार बिल भुक्तानी गर्न असमर्थ रहेको जनाएको छ ।

महामारीका कारण विद्युत् खरिद बिक्री सम्झौतामा उल्लेख भएको काबु बाहिरको परिस्थिती उत्पन्न भएकाले सञ्चालनमा रहेका निजी क्षेत्रका ऊर्जा उद्यमीलाई पछि भुक्तानी गर्ने भएको हो ।

प्राधिकरणले एक सूचनामार्फत् काबू बाहिरको परिस्थिती उत्पन्न भएकाले सञ्चालनमा रहेका विद्युत् आयोजनाको मिटर रिडिङ, मासिक बिल भुक्तानी तथा सो सम्बन्धी अन्य कार्य समयमा गर्न नसकिएको जनाएको छ ।

प्राधिकरणले सूचनामा भनेको छ- काबु बाहिरको परिस्थितीका कारण दायित्व पूरा गर्न नसकिएको मानिने र क्षतिपूर्ति वा हर्जाना बुझाउनु नपर्ने व्यवस्था आर्कषित हुने छ ।

प्राधिकरणले आफूसँग विद्युत् खरिद सम्झौता गरेका सम्पूर्ण प्रवर्द्धक कम्पनीलाई यस अवस्थाको बारेमा जानकारी नै भएको जनाएको छ ।

प्राधिकरणले यसबाट प्रवर्द्धक कम्पनीलाई पर्न गएको असुविधाप्रति क्षमा समेत मागेको छ । प्राधिकरणले साना तथा ठूला गरी झण्डै १०० आयोजनासँग विद्युत् खरिद सम्झौता गरेको छ ।


क्लिकमान्डु