भारतमा आरबीआईको राहत प्याकेज: ३ महिना ऋणको किस्ता तिर्नुनपर्ने, ब्याजदर सस्तो



मुम्बई । कोरोना भाइरसको संकटका बीच रिजर्ब बैंक अफ इन्डिया(आरबीआई)का गभर्नर शक्तिकान्त दासले रिपो रेट घटाउने घोषणा गरेका छन् । उनले रिपो रेट ०.७५ प्रतिशतले घटाउने घोषणा गरेका हुन् । योसँगै आरबीआईले टर्म लोनको इएमआई तिर्ने समयलाई तीन महिनाको छुट दिएको छ ।

कोरान भाइरस(कोभिड १९) ले बैंकमा ऋण तिर्न नसकेर डिफल्टरको संख्या बढ्ने अनुमान भारतमा गरिएको छ । आरबीआईले तीन महिनासम्म ऋणको किस्ता नबुझाउदासम्म डिफल्टर नहुँने घोषणा गरेका छन् । रेटिङ ऐजेन्सीले पनि तीन महिनासम्म बैंकको रेटिङ घटाउने छैनन् ।

आरबीआईका गभर्नरले सबै बैंकलाई टर्म लोनको किस्ताको भुक्तानी गर्न सहुलियत दिएका छन् । जसले गर्दा सेयर बजारको गिरावटको असर बैंक डिपोजिटमा पर्ने छैन । ग्राहकको पैसा सुरक्षित हुने छ ।

रिपो रेट ५.१५ प्रतिशतबाट घटाएर ४.४ प्रतिशत गरिएको छ । यसले गर्दा सबै खाले कर्जाको ब्याजदर सस्तो हुने छ । भारतको केन्द्रीय बैंकको मनिटरी पोलिसी कमिटिमा ६ सदस्यमा ४ सदस्यले रिपो रेट घटाउने प्रस्तावमा उभिएका थिए ।

कोरोना भाइरसको कारण विश्वभर नै आर्थिक गतिविधि प्रभावित भएको छ । यसको असर कति लामो जान्छ भन्ने अनुमान गर्न सकिएको छैन । यद्यपी कच्चा तेलको मूल्य घट्दा तेलमा आश्रित बाहेकका देशलाई भने राहत दिएको छ ।

यस्तै आरबीआईले अनिवार्य नगद मौज्जात(सीआरआर)को सीमालाई १ प्रतिशतले घटाएर ३ प्रतिशतमा झारेको छ । जसले गर्दा बैंकहरुसँग नगद अनुपात बढी हुन्छ । यसबाट ३.७४ लाख करोडको नगद बढ्ने अनुमान गरिएके छ ।


क्लिकमान्डु