बढी भिडभाड हुने ठाउँमा महानगरपालिकाले छर्किन थाल्यो कीटनाशक औषधि



काठमाडौं । काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्र भित्रका विभिन्न स्थानमा (डिसइन्फेक्सन स्प्रे) कीटनाशक औषधि छर्कन थालेको छ ।

विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोरोना भाइरसको संक्रमणलाई महानगर क्षेत्र भित्र फैलिन नदिन किटनाशक औषधी कर्किन थालेको महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले बताए ।

‘काठमाडौँ महानगपालिकाले बढी भिडभाड हुने वीर अस्पताल, भित्रि सहरका असन, इन्द्रचोकसँगै टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल, कालीमाटी तरकारी बजारलगायतका स्थानमा कीटनाशक औषधी छर्कन थालिएको छ’’ प्रमुख शाक्यले भने ‘सार्वजनिक स्थानहरुमा कीटनाशक औषधि छर्किने, सडक पानीले पखाल्ने, बु्रमरले सडक सफा गर्ने जस्ता कामलाई निरन्तरता दिन्छौँ ।’ काठमाडौँ महानगरले पहिलो चरणमा ४ हजार लिटर क्षमताका तीन ओटा ट्याङ्करमार्फत कीटनाशक औषधि छर्किने छ ।

प्रमुख शाक्यले सकेसम्म महानगवासीलाई खाद्यन्नको समस्या हुन नदिन स्थानीय प्रशासनसँग सहकार्य गरेर अघि बढ्ने पनि बताए । ‘यो विश्वव्यापी संक्रमणको बेला हो । त्यसैले सबैले आ–आफ्नो ठाउँबाट सक्दो प्रयास गर्नुपर्छ,’ उनले भने, ‘कोही भोको पर्दैन, कोही भोकले मर्दैन’ भन्ने राज्यले अघि सारेको अभियानलाई समेत आत्मसाथ गर्दै हामी निरन्तर लागिरहन्छौँ ।’

प्रमुख शाक्यले त्यस्तो कुनै पनि समस्या आए तत्काल जनप्रतिनिधिलाई खवर गर्न आग्रह गर्दै जुनसुकै समय पनि जनप्रतिनिधिलाई सम्पर्क गर्न सकिने बताए । उनले कुनै पनि ठाउँमा फोहोर थुप्रिएको जानकारी पाउने वित्तिकै त्यस ठाउँको फोहोर तुरुन्त उठाउने गरी जनशक्ति खटाएको बताए । ‘भोलिका थप आवश्यक भयो भने हामी योजना बनाएर अघि बढ्छौँ,’ उनले भने ।


क्लिकमान्डु