डोटीमा १७५ जनालाई क्वारेन्टाइन्मा राखियो, डढेल्धुरामा ९५ जनालाई राखिने, कहाँ के भयो ?



काठमाडौं । छिमेकी मुलुक भारतका विभिन्न शहरबाट काम गरेर फर्किएका डोटी जिल्लाका १७५ जना स्थानीयवासीलाई क्वारेन्टाइनमा राखिएको छ ।

डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले दिएको जानकारीअनुसार मङ्गलबार कैलालीको त्रिनगर भन्सार कार्यालय हुँदै डोटी आएका १७५ स्थानीयवासीलाई जिल्लाको बडीकेदार गाउँपालिकास्थित बिपीनगर, शिखर नगरपालिका तल्कोट र दिपायल सिलगढी नगरपालिका राजपुरमा निर्माण गरिएका क्वारेन्टाइनमा राखिएको छ ।

भारतका विभिन्न शहरमा काम गरेर स्वदेश फर्किएका सुदूरपश्चिम प्रदेशका ९९९ स्थानीयवासीलाई प्रदेश सरकारको निर्देशनमा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको सम्पर्कमा जाने गरी मङ्गलबार राति कैलालीबाट यहाँका पहाडी जिल्लामा पठाइएको थियो ।

यसै सिलसिलामा डोटीमा १७५ जना भारतमा काम गरी फर्किएका छन् । भारतबाट फर्किएकाहरु शिखर नगरपालिकाको तल्कोटमा रहेको क्वारेन्टाइनमा ७१, बडीकेदारको बिपीनगरमा ५१ र दिपायल सिलगढी नगरपालिका–४ राजपुरमा निर्माण भएको क्वारेन्टाइनमा ५३ जना राखिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले जानकारी दिए ।

क्वारेन्टाइनमा राखिएकालाई सम्बन्धित नगरपालिका तथा गाउँपालिकाले खाने बस्ने व्यवस्था मिलाएको जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐरले बताए ।

कोभिड–१९ को सचेतनास्वरुप यहाँका स्थानीय तहले आफ्ना स्थानीय तहका विभिन्न वडाका घर÷घरमा पुगेर भारतबाट आएकालाई होम क्वारेन्टाइनमा बस्न सुझावसमेत दिन थालेका छन् ।

भारतबाट आफ्नो गाउँ टोलमा कोही आएको खण्डमा वडा वा नगरपालिका कार्यालयमा खबर गरी सहयोग गर्न प्रमुख जिल्ला अधिकारी पौडेलले सबैलाई आग्रह गरेका छन् ।

भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनको निर्णय पालना गरी सहयोग गर्न जिल्ला प्रशासनले आग्रह गरेको छ । क्वारेन्टाइनमा राखिएकालाई १४ दिनसम्म दैनिक आफ्नो तापक्रम मापन गर्नका लागि थर्मोमिटर प्रदान गरिएको छ भने आवश्यक परामर्शसमेत दिइएको छ ।

त्यसैगरी जिल्लामा भारतसहित देशका अन्य क्षेत्रबाट आएकाको खोजी गरी अभिलेख राख्ने कार्यलाई निरन्तरता दिइने समन्वय समितिका संयोजक ऐरले बताउनुभयो ।

दिपायल राजपुरको क्वारेन्टाइनमा राखिएकाको उपचार गर्ने स्वास्थ्य केन्द्रलाई आवश्यकतानुसारका स्वास्थ्य सामग्री दिपायल सिलगढी नगरपालिकाले उपलब्ध गराइएको नगर प्रमुख मञ्जु मलासीले बताए ।

क्वारेटाइनमा बसेकाको स्वास्थ्य जाँच गर्ने स्वास्थ्यकर्मीलाई आवश्यक सामग्री तथा औषधि उपलब्ध गराएका छौँ, आवश्यक परे जतिबेला पनि अन्य सामग्री प्रदान गर्न तयारी अवस्थामा छौँ, उनले भने ।

नगरपालिकाले साबुन पानीसहित हात धुने व्यवस्थाका लागि साबुन, सेनिटाइजर, मास्कसमेत प्रदान गरेको नगरप्रमुख मलासीले जानकारी दिए । त्यसैगरी स्थानीयवासी जम्मा हुने तथा बढी भीडभाड हुने ठाउँ तथा चोकहरुमा पनि साबुन पानीसहित हात धुने व्यवस्था मिलाइएको दिपायल सिलगढी नगरपालिकाका नगर उपप्रमुख शिवराज खड्काले जानकारी दिए ।

लकडाउनका बेला अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन, घर, टोल छिमेकमा पनि भीडभाड नगरी सुरक्षित भई सङ्क्रमणबाट जोगिन जनचेतना फैलाउने अभियानमा जनप्रतिनिधि, कर्मचारी लागिपरेको नगरपालिकाले जनाएको छ ।

त्यस्तै प्रशासनको आग्रहलाई अटेर गरे कानूनी कारवाही गरिने प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए ।

त्यसैगरी, डडेल्धुरा जिल्लामा भारतबाट फर्केका ९५ जनालाई जिल्ला प्रशासन कार्यालय डडेल्धुराले क्वारेन्टाइमा राख्न जिम्मा लगाएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए ।

मङ्गलबार सुदूरपश्चिम प्रदेशको गौरीफन्टा र गड्डाचौकी नाकाबाट आएका डडेल्धुरा जिल्लाका परशुराम नगरपालिकाका ३९, भागेश्वर गाउँपालिकाका १०, नवदुर्गा गाउँपलिकाका ११, गन्यापधुरा गाउँपालिकाका ९, अजयमेरु गाउँपालिकाका ५, अमरगढी नगरपालिका–१० का १० जना र वडा नं. ९ का ११ जनालाई स्थानीय तहको समन्वयमा सम्बन्धित पालिकामा पठाइएको डडेल्धुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिए ।

यस्तै पुरशुराम नगरपालिको त्रिवेणी बहुमुखी क्याम्पसमा ३९ जनालाई क्वारेन्टाइनमा राखिएको र अन्य पालिकाले पनि क्वारेन्टाइनमा राख्ने तयारी गरेको प्रजिअ पन्तले बताए ।

अहिलेसम्म कोरोनाको प्रभाव जिल्लामा नपरेको भए पनि मानसिक र सम्भावित सङ्क्रमणबाट जोगिन सरकार, स्थानीय प्रशासन र स्थानीय सरकारले गरेको अपिल मानिदिन उहाँले आग्रहसमेत गर्नुभएको छ । बेलाबेलामा आफू र आफ्नो परिवारको सरसफाइमा ध्यान दिन र घरमै बस्न आग्रह गरेका छन् ।

एक हप्ताको अवधिमा भारतबाट डडेल्धुरा फर्किएका एक हजार ५०० जनाको खोजी गरिँदै गरेको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ । कुन ठाउँमा कतिजना मानिस जिल्ला भित्रिएका हुन् स्थानीय सरकारसँग समन्वय गरी वडा–वडामा स्थानीय जनप्रितिनिधि र स्वास्थ्यकर्मीलाई परिचालन गरी तथ्याङ्क सङ्कलन गरी सेल्फ होम क्वारेन्टाइनमा बस्न लगाइने प्रजिअ पन्तले बताए ।

केही वडामा अटेर गरी घरमा बस्न नमान्नेलाई प्रहरी परिचालन गरी सहयोग गरिएको अमरगढी नगरपालिका–९ का अध्यक्ष भीमबहादुर रोकाले जानकारी दिए ।

डडेल्धुरा जिल्लामा मङ्गलबार लकडाउन गरिए पनि आवतजावत रोकिएको थिएन । आज बिहानैदेखि पूर्णरुपमा लकडाउनको पालना भएको डडेल्धुरा जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।

त्यसैगरी, तनहुँको शुक्लागण्डकी नगरपालिकामा विदेशबाट फर्किएका छ जना होम क्वारेन्टाइनमा बसेका छन् । कोभिड–१९ को सचेतनास्वरुप विदेशबाट आएकालाई होम क्वारेन्टाइनमा बस्न सुझाव दिइएबमोजिम उनीहरु पनि होम क्वारेन्टाइनमा बसेका हुन् ।

शुक्लागण्डकी नगरपालिकामा गठित दु्रत प्रतिकार्य टोलीका संयोजक एवं स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले विदेशबाट फकिएका उनीहरुलाई घरमै सुरक्षित रुपमा बस्न सुझाव दिइएको जानकारी दिए । श्रीवास्तवका अनुसार पछिल्लो अवधिमा नगरपालिकाभित्र धेरै नै सङ्ख्यामा विदेशबाट फर्किएको पाइएकोले तथ्याङ्क सङ्कलनको काम भइरहेको छ ।

उनका अनुसार भारतको गुजरातबाट आएका एक, दुवईबाट दुई, जापानबाट एक, कतारबाट एक र बहराइनबाट एक जना होम क्वारेन्टाइनमा बसेका छन् ।

“विदेशबाट फर्किएको हुनाले कोभिड–१९ को सङ्क्रमण हुन सक्ने भएकाले उहाँहरुलाई सम्पर्क गरेर होम क्वारेन्टाइनमा बस्न सुझाव दियौ,” उनले भने। विदेशबाट फर्किएकाको तथ्याङ्क सङ्कलनका लागि हटलाइनको व्यवस्था गरिएकाले थप व्यक्तिहरुको तथ्याङ्क सङ्कलन भइरहेको छ ।

यता व्यास नगरपालिकाका विभिन्न वडामा पनि विदेशबाट फर्किएकाहरुको जानकारी लिने काम भइरहेको छ । व्यास नगरपालिका–१, ६, ९ लगायतका वडामा विदेशबाट युवाहरु आएको सम्बन्धित वडाका अध्यक्षहरुले जानकारी दिनुभएको छ । व्यास नगरपालिका–६ का वडाध्यक्ष सूर्यभक्त भण्डारीले दुवईबाट फर्किएका युवालाई सम्पर्क गरी सुरक्षित रुपमा घरमा बस्न आग्रह गरिएको जानकारी दिए ।

नगरपालिकाले प्रत्येक वडा कार्यालयमार्फत् विदेशबाट फर्किएकाको विवरण सङ्कलन गरिरहेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

सौराहाका होटल क्वारेन्टाइनलाई दिइने

पर्यटकीय क्षेत्र सौराहामा रहेका होटल क्वारेनटाइनमा प्रयोग गर्न दिइने व्यवसायीले जनाएका छन् । क्षेत्रीय होटल सङ्घ सौराहाका प्रतिनिधिसहित सरोकारवालाहरुको बैठकले सरकारलाई क्वारेन्टाइनका लागि होटल प्रयोग गर्न दिने निर्णय गरेका हुन् ।

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार क्वारेन्टाइनका लागि चार हजार श्यया दिन सकिने छ । बैठकले तीन हजार श्यया केन्द्रीय सरकार र एक हजार श्यया स्थानीय सरकारले प्रयोग गर्ने गरी दिन सकिने निर्णय गरेको हो ।

स्थानीय सरकारले प्रयोग गर्ने क्वारेन्टाइनमा विशेषतः पूर्वि चितवनकै बासिन्दा हुनुपर्ने उनले बताए ।

कोरोनाको सङ्क्रमण रोक्न सरकारले मङ्गलबारदेखि देशभर बन्द घोषणा गरेसँगै सौराहाका होटल व्यवसायीले आफ्ना होटललाई क्वारेन्टाइनमा राख्न आह्वान गरेका हुन् । देशकै तेस्रो पर्यटकीय गन्तव्य सौराहा कोरोनाको सन्त्राससँगै सुनसान छ । चितवन राष्ट्रिय निकुञ्जले पर्यटकीय गतिविधि रोकेपछि थप सुनसान भएको हो ।

सौराहामा ११५ वटा होटल रहेका छन् । ती होटलको क्षमता पाँच हजार ५०० हाराहारी रहेको छ । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकका लागि सौराहा प्रमुख बासस्थान हो ।

देशकै तेस्रो पर्यटकीय गन्तव्य सौराहामा हरेक वर्ष दुई लाखभन्दा बढी पर्यटक आउने गर्छन् । कोरोनाको प्रभावका कारण व्यवसाय प्रभावित भएपछि बैंकको ब्याज र किस्ता तिर्न नसक्ने भन्दै व्यवसायीले सरकारसँग सहयोग मागेका छन् ।

झापामा लकडाउन प्रभावकारी

नेपालमा फेला परिसकेको कोभिड–१९ को सङ्क्रमण फैलिन नदिने उद्देश्यले सरकारले घर बाहिर ननिस्कन दिएको आदेशलाई झापाका नागरिकले पूर्णरूपमा पालना गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले अत्यावश्यकबाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिएको बताउँदै लकडाउनको उल्लङ्घन नभएको बताए ।

“सबैले लकडाउन हाम्रै लागि हो भनेर सरकारी आदेशको पालना गरिरहेकै छन्,” उनले भने, “हिजो अली उल्लङ्घन भएको थियो, आदेश नमान्नेका सवारी साधान नै नियन्त्रणमा लिएपछि आज पूर्ण पालना भएको छ ।”

प्रवक्ता श्रेष्ठले लकडाउनको प्रहरीले अनुगमन गरिरहेको र झापामा सबैतिर सर्वसाधारण घरभित्रै बसेको जानकारी आएको बताउँदै किराना पसल, पेट्रोलपम्प, दूध डेरीलगायतका अत्यावश्यक पसललाई खुल्न दिइएको जानकारी दिए ।

कार्यालय प्रमुख तथा प्रहरी उपरीक्षक कृष्ण कोइरालाले झापाका १५ स्थानीय तहमा विगत सात दिनदेखि विदेशबाट आउने व्यक्तिको लगत सङ्कन गरिरहेको बताए । उनले सामाजिक सञ्जालमै विभिन्न वडाका टोल विकास समिति, पूर्वप्रहरी, जनप्रतिनिधि र स्थानीयवासीलाई १५ दिनअघिदेखि विदेशबाट आएका व्यक्तिका बारेमा प्रहरीलाई जानकारी दिन आग्रह गरेका छन् ।

उपरीक्षक कोइरालाले सामाजिक सञ्जालमार्फत नै वर्तमान अवस्थालाई बुझेर आफू सुरक्षित रहन र सुरक्षित गराउनसमेत उनीहरुलाई अनुरोध गरेका छन् । विर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुमार भट्टराईले सरकारले घर बाहिर हिँडडुल नगरी सात दिनसम्म सुरक्षित बस्न दिएको आदेशलाई झापाली सचेत नागरिकले स्वागत गरेको बताए ।

विदेशबाट आएकालाई घर–घरमा स्वास्थ्य जाँच

कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन झापाको बुद्धशान्ति गाउँपालिकाले नेपालभन्दा बाहिरबाट आएका आफ्ना नागरिकको स्वास्थ्य परीक्षण गर्न स्वास्थ्यकर्मीलाई घरघरमै खटाएको छ । गाउँपालिकाले स्वास्थ्यकर्मीलाई पर्सनल प्रोटेक्टेड इक्युपमेन्ट ९पिपीइ० र माक्स लगाएर उनीहरुको स्वास्थ्य परीक्षण गरिरहेको गापा अध्यक्ष रमेश भुजेलले बताए । उनका अनुसार गापाका विभिन्न वडामा कतार, दुबई, इटाली र बैङ्लोरबाट आएका व्यक्ति छन् ।

“हामीले १० थान पिपीइ काठमाडौँबाट मगाएर सुरक्षित तवरले स्वास्थ्यकर्मीको टोली गाउँगाउँ खटाएका छौँ”, उनले भने, “दुई दिनभित्रमा २० जना विदेशबाट आएका व्यक्ति सम्पर्कमा आएका छन् । उनीहरुको स्वास्थ्य जाँच गराउँदा सामान्य रहेको छ र बैङ्गलोरबाट आएका छ विद्यार्थीलाई एउटा खाली घरमा क्वारेन्टाइन बनाएर राखेका छौँ ।”

अध्यक्ष भुजेलले सार्वजनिकस्थल तथा सवारी आवागमन हुने स्थानमा क्लोरिन ९किटनाषक औषधि० छर्कन आवश्यक रहे पनि औषधि अभावमा छर्न नसकेको बताए ।

आवश्यक सामग्री अस्पतालमा पठाइयो

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९को रोकथाम र नियन्त्रणका लागि विभिन्न अस्पतालमा सामग्री पठाएको छ ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालका सल्लाहकार डा खेम कार्कीले रोकथामका लागि अस्पतालमा दुई लाख २७ हजार २०१ आवश्यक सामग्री पठाइएको जानकारी दिए । तीमध्ये मास्क २ लाख २२ हजार ७६० र अन्य विभिन्न सामग्री चार हजार ४४१ रहेका छन् ।

उनका अनुसार व्यक्तिगत सुरक्षा सामग्री ९पिपीइ० ६२५ मध्ये २६७ पठाइएको र ३५८ मौज्दात राखिएको छ । अहिले कोभिड–१९ को उपचारमा संलग्न चिकित्सकले पिपीइ लगाउनुपर्ने हुन्छ । यसैगरी ४८३ गाउन, मुखमा प्रयोग गर्ने मास्क ५२२, स्यानिटाइजर २०९, पञ्जा एक हजार २३६, एन–९५ मास्क ६०१, चश्मा ४७१, आइआर थर्मोमिटर ५८, पिपीइ ग्राउण्ड २८५, सुकभर ४७६ र फेस सिल्ड १०० वटा विभिन्न अस्पतालमा पठाइएको छ ।

यसैगरी उनका अनुसार खरिद गरिएकामध्ये २ लाख ७९ हजार ३८७ सामग्री तत्काल नपठाइ मौज्दातसमेत गरिएको छ । तीमध्ये मास्क दुई लाख ७२ हजार ४२० र अन्य सामग्री छ हजार ९६७ रहेका छन् । जसअनुसार पिपीइ ३५८, गाउन एक हजार ४५६, फेस मास्क एक हजार ५७८, स्यानिटाइजर ७७, पञ्जा एक हजार ५९३, एन–९५ मास्क २४, चश्मा ४८०, आइआर थर्मोमिटर चार, सुकभर एक हजार १६२ र फेस सिल्ड २३५ मौज्दात राखिएको छ ।

मौज्दात राखिएका सामग्री आवश्कताअनुसार पठाइने उनले जानकारी दिए ।

पूर्ण बैंकिङ सुविधा दिन्छौँः बैंकर्स संघ

कोरोनाको सङ्क्रमण फैलन नदिन सरकारले घोषणा गरेको साताव्यापी ‘लकडाउन’लाई पूर्णरूपमा कार्यान्वयन गर्दै वाणिज्य बैंकले उपभोक्तालाई सहजरुपमा बैंकिङ सुविधा दिने प्रतिबद्धता जनाएका छन् ।

नेपाल बैंकर्स सङ्घको आज बसेको अनलाइन बैठकले विपद्को समयमा सर्वसाधारणको कमाइको पूर्ण सदुपयोग हुने गरी बैंकका आवश्यक शाखा खोलेर पूर्ण सेवा दिने निर्णय गरेको हो । बैठकपछि सङ्घले जारी गरेको प्रेस विज्ञप्तिअनुसार उपभोक्तालाई एटीएममा पर्याप्त रकम उपलब्ध गराउने, एटीएम नभएका शाखा सीमित समयका लागि खुला गर्ने निर्णय गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, “लकडाउनका बेलामा पनि वाणिज्य बैंकका शाखाले एलसी ट्रेजरीलगायत अत्यावश्यक सेवा दिइनेछ ।”

बैठकले अत्यावश्यक वस्तुको आयातमा बैंकले दिने सेवा सबै शाखाबाट उपलब्ध गराउने निर्णय गरेको छ । निर्णयमा भनिएको छ, “बैंकका शाखाले एटीएममा पर्याप्त रकम राख्नेछन् भने ती शाखाबाट नगद कारोवार हुनेछैन । एटीएम नभएका शाखा भने सीमित समयका लागि खुला गरिनेछ । बैंकका शाखामा सर्वसाधारण विशेषगरी रकम झिक्ने आउने भएकाले एटीएम भएको स्थानमा शाखा खोलिने छैन ।”

बैंकका शाखाले दुई आधिकारिक व्यक्तिको सम्पर्क नम्बर ग्राहकलाई उपलब्ध गराउने र ग्राहकले ती व्यक्तिलाई अत्यावश्यक परेको खण्डमा सेवा लिन सम्पर्कसमेत गर्न सक्नेछन् । यस्तै सङ्घले ग्राहकलाई डिजिटल बैंकिङमार्फत कारोवार गर्न आग्रह गर्दै स्थानीय तथा सरकारी निकायलाई बैंकका कर्मचारीलाई स्वास्थ्य तथा सुरक्षा उपकरण उपलब्ध गराइदिनसमेत आग्रह गरेको छ । रासस


पुष्प दुलाल