देश कोरोना भाइरसको जोखिममा लकडाउन भएका बेला बीमा समितिमा राजनीति गर्न नयाँ यूनियन दर्ता



काठमाडौं । यतिबेला देश कोरोनाको सन्त्रासमा रहेको छ । मुलुक एक साताका लागि लकडाउनमा छ । तर बीमा कम्पनीको नियामक निकाय बीमा समिति भने यही बोला राजनीति गर्न थालेको छ ।

समितिमा हाल भएको कर्मचारी युनियनप्रति असन्तुष्टी जनाउँदै समितिका अध्यक्ष चिरन्जीवी चापागाई निकट केही कर्मचारीहरुले कर्मचारी संगठन गठन सोमबार दर्ता गरेका छन् ।

समितिका एक कर्मचारीका अनुसार अध्यक्ष चापागाई निटक कर्मचारीहरुले सोमबार संगठन श्रम कार्यालयमा दर्ता गराएर मंगलबार दाबी विरोधका लागि सूचना समेत टाँस गरेका छन् ।

दर्ता भएको नयाँ गठनको संयाेजक  पदमप्रसाद शोडारी,  सह-संयाेजक दीपक ज्ञवाली, टेकराज पाण्डे कोषाध्यक्ष लगायत छन् ।

कोरोनाको संक्रमणबाट बच्नका लागि रहेको समयमा बीमा समिति भने व्यवस्थापनको दबाबमा कर्मचारी युनियन खोल्न लागेको हो ।

अहिलेसम्म समितिका कुनै राजनीति दलभन्दा पनि सबैको उपस्थिती हुनेगरी एउटा युनियन थियो । युनियनको निर्वाचनबाट गत मंसिरमा पूर्णबहादुर थापा निर्वाचित भएर आए ।

थापासँग झिनो मतान्तरले तत्कालीन अध्यक्ष पदमप्रसाद सोडारी पराजित भए । थापा विजयी भएपछि उनको कार्यसमितिका उपाध्यक्ष, सचिवलगायत ५ जनाले कार्यसमितिबाट नै राजीनामा दिए, त्यो पनि एक साताकै अवधिमा ।

समिति निकट स्रोतका अनुसार समितिको व्यवस्थापन दवाबमा उनीहरुले राजीनामा दिएको र अहिले नयाँ संगठन पनि समितिको दबाब र चाहना अनुसार नै हुन लागेको हो ।

समितिका राजनीति हुनुहुँदैन भनेर लागेपनि अहिले तत्कालीन माओवादी र हालका नेकपाका नेता भन्नेहरु समितिका राजनीति गर्न शुरु गरेका छन् । त्यसका लागि समितिका अध्यक्ष चापागाईलगायतको उच्च व्यवस्थापनको सहयोग रहेको बताइएको छ ।

यसअघिको यूनियनले कर्मचारीको हितको लागि बढी आवाज उठाएको र त्यो अध्यक्ष चापागाईलाई मन नपरेपछि नयाँ यूनियन दर्ता गर्न लागेको स्रोतको तर्क छ ।

समितिमा नयाँ संगठन कर्मचारीको हक, हितका लागि काम गर्न गठन गर्न लागिएको सोडारीले यसअघि नै बताइसकेका छन् । समितिका एक कर्मचारीका अनुसार नयाँ संगठन अध्यक्षसहित माथिल्लो तहका व्यक्तिलाई चाहिएको भएर उनीहरुले नै सोडारीलाई दबाब दिएर युनियन दर्ता गर्न लगाएका हुन् ।

योसँगै अब बीमा समितिमा कर्मचारीहरुको २ वटा युनियन हुने देखिएको छ ।


क्लिकमान्डु