सोमबारदेखि प्याराग्लाइडिङ उडान बन्द हुने



काठमाडौं । सोमबारदेखि प्याराग्लाइडिङका सबै उडान बन्द हुने भएका छन् । चीनमा कोरोना संक्रमण देखिएसँगै सुस्ताएको व्यवसाय सोमबारदेखि बन्द गर्न लागिएका प्याग्लाइडिङ एसोसिएसनका महासचिव शैलेन्द्र रावतले क्लिकमाण्डूलाई जानकारी दिए ।

‘सरकारले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय अनुसार सोमबारदेखि लागू हुने गरी अर्को सूचना नआउँदासम्म सबै उडान बन्द गर्ने निर्णय भएको छ,’ उनले भने ।

उनका अनुसार हाल मुलुकभरमा ७४ वटा कम्पनीले प्याराग्लाइडिङ सञ्चालन गर्छन् । जसमध्ये पोखरामा मात्रै ६१ वटा कम्पनी सञ्चालनमा छन् ।

कोरोना संक्रमण विश्वव्यापी रुपमा देखिएसँगै पोखरामा प्याराग्लाइडिङको उडानमा कमी आएको थियो । सामान्य दिनमा दैनिक ३ सयदेखि ४ सय वटा उडान हुने गरेकोमा कोरोना भाइरस देखिएसँगै दैनिक ४०/५० वटा उडानमा मात्रै सीमित भएको थियो ।

रावतले प्याराग्लाइडिङको उडानमा कमी आएसँगै बैंकको ऋण तिर्न, घर भाडा तिर्न र कर्मचारीलाई तलब दिन समेत गाह्रो भएको बताए । उनका अनुसार २०७२ सालको भूकम्पपछि सबैभन्दा अप्ठ्यारो अवस्था सिर्जना भएको हो ।

‘कोरोना भाइरसको संक्रमण देखिएसँगै विदेशी पर्यटक घटेका थिए भने आन्तरिक पर्यटक पनि उल्लेख्य मात्रामा घटेका हुन,’ उनले भने ।

पोखरामा प्याराग्लाइडिङसँगै होटल, पसल, रेष्टुराँको व्यापार पनि ठप्प जस्तै भएको छ ।

यसअघि संघले प्याराग्लाइडिङ गर्दा लाग्ने शुल्क समेत घटाएको थियो । विदेशीलाई १० हजार र स्वदेशीलाई ८ हजार रुपैयाँ लिइँदै आइएकोमा शुल्क घटाइ ५ हजार रुपैयाँ कायम गरिएको थियो ।


क्लिकमान्डु