प्रत्येक प्रदेशसहित सबै स्थानीय तहले सार्वजनिक क्वारेन्टाइन बनाउनुपर्ने



काठमाडौं । कोरोना भाइरस रोकथामका लागि सरकारले उपत्यकासहित प्रत्येक प्रदेश र सबै स्थानीय तहमा सार्वजनिक क्वारेन्टाइन निर्माण गर्नुपर्ने भएको छ ।

आइतबार पर्यटनमन्त्री योगेश भट्टराईले सार्वजनिक क्वारेन्टाइन सम्बन्धी मापदण्ड बनाउन निर्देशन दिँदै सबै स्थानीय तहमा सार्वजनिक क्वारेनटाइन बनाउनु पर्ने बताए ।

पर्यटनमन्त्री भट्टराईले आइतबार साँझ नै मापदण्ड तयार पारी सोमबार बिहान १० बजे पेश गर्न निर्देशन दिएका छन् ।

पर्यटनमन्त्रीले उपत्यकामा कम्तीमा ५ हजार व्यक्ति अट्ने क्षमताको सार्वजनिक क्वारेन्टाइन स्थल तत्काल निर्माण गर्न सम्बन्धि सबै निकायमा संयुक्त रुपमा परिचालित हुने र उक्त सार्वजनिक क्वारेन्टाइन स्थललाई आवश्यक पर्दा तुरुन्तै अस्थायी अस्पतालमा रुपान्तरण गर्न सकिने गरी तयारी गर्न निर्देशन दिएका हुन् ।

प्रतिवेदन पेश भएपछि आवश्यक निर्णय कोरोना भाइरसको रोकथामका लागि गठित उच्चस्तरीय समन्वय समितिले गर्नेछ ।

जसमा प्रत्येक प्रदेशले कम्तीमा २ हजार क्षमताको सार्वजनिक क्वारेन्टाइन स्थल बनाउनुपर्ने छ । त्यस्तै, प्रत्येक नगरपालिकाले कम्तीमा २ हजार क्षमताको, प्रत्येक उपमहानगरपालिकाले कम्तीमा १ हजार क्षमताको र सबै जिल्ला सदरमुकाममा रहेका नगरपालिका गाउँपालिकाले कम्तीमा हिमाली क्षेत्रको हकमा ५ सय क्षमताको, पहाडी क्षेत्रको हकमा १ हजार व्यक्ति क्षमताको र तराइ क्षेत्रको हकमा २ हजार व्यक्ति अट्ने क्षमताको क्वारेन्टाइन स्थल बनाउनुपर्नेछ ।


क्लिकमान्डु