११ वटा विमानस्थल १ महिनामा सरसफाइ र ३ महिनामा अडिट गर्न पर्यटनमन्त्रीको निर्देशन



काठमाडौं । पर्यटनमन्त्री योगेश भट्टराईले ११ वटा विमानस्थल १ महिनामा सरसफाइ गरिसक्न नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएन)को सहयोगमा ११ वटा विमानस्थलको सरसफाइ अडिट गर्दा मापदन्ड अनुरुप नभएकाले मन्त्री भट्टराईले १ महिनाको समयभित्र सुझाव कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।

‘प्राप्त सुझाव अनुसार १ महिनाभित्र सुधार गर्नुहोस, त्यसको रिपोर्ट पनि पेश गर्नुहोस, अबको ३ महिनापछि फेरि अडिट गरिन्छ,’ क्यानका अधिकारीलाई निर्देशन दिँदै मन्त्री अधिकारीले भने ।

एनआरएन अस्ट्रेलियाका सदस्य खेम शर्मा को सहयोगमा धनगढीदेखि भद्रपुरसम्मका ११ वटा विमानस्थल निरिक्षण गरी सबै विमानस्थलको छुट्टछुट्टै प्रतिवेदन मन्त्रीलाई बुझाएका थियो ।

मन्त्री भट्टराईले विमानस्थलमा आलोचना गर्ने अवस्था नभए पनि सुधार गर्ने धेरै ठाउँ रहेको बताए ।

शुक्रबार सिंहदरबारमा आयोजित कार्यक्रममा एनआरए सदस्य शर्माले आफूहरुले सरसफाइका लागि सरकारलाई स्वयम सेवाका रुपमा सहयोग गरेको बताए ।

अष्ट्रेलियामा विगत १२ वर्षदेखि सरसफाइ सम्बन्धि कम्पनी सञ्चालन गरिरहेका उनले शुरुमा विमानस्थलको सरसफाइको अडिट गर्नका लागि मन्त्री समक्ष प्रस्ताव गरेका थिए ।

मन्त्री भट्टराईले आगामी दिनमा विमानस्थलसँगै धेरै मानिस जम्मा हुने पशुपतिनाथ क्षेत्र र लुम्बिनीमा पनि सहकार्य गरी काम गर्न सकिने बताए ।


क्लिकमान्डु