पर्यटन उद्योगमा संकटकाल घोषणा गर्दै कर्मचारीको ८७.५० प्रतिशत तलब सरकारले बेहोर्नुपर्ने हानको माग



काठमाडौं । होटल एसोसिएसन अफ नेपालले पर्यटन उद्योगलाई संकटकाल घोषणा गर्न माग गरेको छ ।

कोरोना भाइरसले पर्यटन क्षेत्रमा ठूलो प्रभाव पारेकाले यसलाई संकटकाल घोषणा गर्न हानले सरकारसँग माग गरेको हो ।

हानले जारी गरेको विज्ञप्तीमा बैंक तथा वित्तीय संस्थाबाट होटलले लिएको ऋणको साँवा र ब्याज भुक्तानी गर्न व्यवसायिक आय आर्जन गर्न नसकिएकाले कम्तीमा २ वर्षका लागि सम्पूर्ण होटलको ऋण ब्याजमा शतप्रतिशत छुट दिन समेत माग गरिएको छ ।

साथै वर्तमान अवस्था काबू बाहिर रहेकाले होटलको व्यवसायिक सञ्चालनमा समस्या भएकाले पर्यटन उद्योगलाई संकटकाल घोषणा गर्दै कर्मचारी र पाहुनाको स्वास्थ्य सुरक्षालाई समेत ध्यानमा राख्दै होटल बन्द गर्नुपर्ने अवस्था आएको हानले उल्लेख गरेको छ ।

अहिलेको अवस्थामा होटलका कर्मचारीलाई अनिवार्य बिदामा पठाउनु पर्ने बाध्यात्मक अवस्था सिर्जित भएकाले कर्मचारीलाई भुक्तानी गर्नुपर्ने तलब भत्ताको १२.५० प्रतिशत होटलले बेहार्ने गरी र बाँकी तलब सरकारले उपलब्ध गराउन विशेष व्यवस्था गर्न समेत हानले माग गरेको छ ।

साथै ६ महिनासम्म विद्युत् महशुलमा शतप्रपितशत छुट हुनुपर्ने, होटललाई नन डोमेस्टिक ग्राहस्थ समूहबाट औद्योगिक समूहमा वर्गिकरण गरी आगामी २ वर्षसम्मका लागि विशेष छुट सहितको दरमा छुट्टै विद्युत् महसुल दर कायम गरिनुपर्ने समेत बताएको छ ।

त्यस्तै हानले जारी गरेको विज्ञप्तीमा होल सञ्चालनका लागि चाहिने सञ्चालन खर्च सहुलियत दरमा ऋण उपलब्ध गराउनुपर्ने, स्थानीय निकालय लिँदै आएको एकीकृत सम्पत्ति करमा २ वर्षसम्म छुट दिनुपर्ने, घर र जग्गा बाहनलमा लिइ सञ्चालन भएका होटलका लागि प्रकोप नियन्ण नभएसम्मका लागि घर र जग्गा बाहलमा छुट दिनुपर्ने र घर बाहल कर समेत छुट दिनुपर्ने माग गरिएको छ ।

विज्ञप्तीमा गत सालको भुक्तानी गरेको भ्याटलाई हालको संकटकालीन विषम परिस्थितीमा होटल सञ्चालन गर्नका लागि भ्याट रकम पूरै फिर्ता गरिनुपर्ने, अहिलेको अवस्थालाई मध्यनजर गर्दै सरकारद्वारा पुनरावलोकन गरिने न्यूनतम पारिश्रमिक निर्धारण आगामी २ वर्षका लागि स्थगित गर्न समेत माग गरिएको छ ।


क्लिकमान्डु