राष्ट्र बैंकको गभर्नर नियुक्तिमा अर्थमन्त्रीले पूरा गरेरनन् आफ्नै बाचा



काठमाडौं । गत फागुन १५ गते सरकारका प्रवक्ताका हैसियतले सरकारका निर्णय सुनाउन गरिएको पत्रकार सम्मेलनमा अहिलेसम्म सिफारिस कमिटि गठन भएको छैन, गभर्नरको नियुक्ति कहिले हुन्छ ? भन्ने पत्रकारको प्रश्नमा खतिवडाले भनेका थिए, ‘म पनि गभर्नरमा नियुक्ति भएको व्यक्ति हुँ, एक महिना अघि त होइन, अन्तिम समयमै भएको हो । मेरो कार्यालयको अन्तिम दिन पनि ३ बजेतिर मन्त्रिपरिषदको बैठकले नयाँ गभर्नर नियुक्ती गरेको थियो । त्यसपछि मात्रै मैले गभर्नरको कार्यालय छाडेको हो, अहिले पनि त्यस्तै हुन्छ । ढुक्क हुनुहोस् चैत ५ गतेभित्र देशले नयाँ गभर्नर पाउँछ ।’

चैत ५ गतेदेखि डा. चिरञ्जीबी नेपालको पदावधि सकिएको छ । कामू गभर्नरको जिम्मा डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीलाई दिइएको छ । अहिलेसम्म पनि सरकारले गभर्नर सिफारिस समिति बनाएको छैन ।

गभर्नरको नियुक्ती चैत ५ गतेभित्र हुन्छ: अर्थमन्त्री खतिवडा

बहालवाला गभर्नरको पदावधि सकिन १ महिना बाँकी रहँदा सरकारले अर्थमन्त्रीको संयोजकत्वमा नयाँ गभर्नर सिफासिर समिति बनाउने चलन थियो । र, उक्त समितिले ३ जनाको नाम सिफारिस गर्ने र त्यसमध्येबाट १ जनालाई मन्त्रिपरिषदले नियुक्ति गर्छ ।

बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले ‘नेपाल राष्ट्र बैंकको गभर्नर कहिले नियुक्त हुन्छ ?’ भनेर प्रश्न सोधेका थिए ।

मन्त्री खतिवडाले उक्त प्रश्नको कुनै पनि जवाफ दिएनन् । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका विषयमा अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्नै बाचा पूरा गर्न सकेनन् ।

अहिले गभर्नरका लागि डेपुटी तथा कामु गभर्नर चिन्तामणी शिवाकोटी, पूर्वअर्थसचिव राजन खनाल, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार लालसंकर घिमिरे, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ र धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाको नाम चर्चामा छ ।

यी व्यक्तिको नाम चर्चामा रहेपनि राष्ट्र बैंकले कहिले र को गभर्नर पाउने भन्नेमा अन्योलता कायमै रहेको छ ।


पुष्प दुलाल