पर्यटन क्षेत्रमा भएको घाटा अफसिजनमा पर्यटक ल्याएर पूरा गर्छौ: अर्थमन्त्री डा. खतिवडा



काठमाडौं । अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरसका कारण पर्यटन क्षेत्रलाई भएको घाटा अफसिजनमा पर्यटक ल्याएर पूरा गर्ने बताएका छन् ।

बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खतिवडाले यो सिजनमा भएको घाटा अफ सिजनमा छिमेकी मुलुकबाट पर्यटक ल्याएर पूरा गर्ने बताए ।

‘फेब्रुअरी, मार्च जस्तो पर्यटन सिजनमा भएको नोक्सानीलाई पूरा गर्न अफसिजन टुरिजममा छिमेकी मुलुकबाट पर्यटक ल्याएर पूरा गर्छौ, यसका लागि हामीले रणनीति बनाउन थालिसकेका छौं,’ उनले भने ।

उनले अहिले भएको क्षती पूरण गर्ने नीति अघि सार्ने समेत बताए । साथै केही समय होटलमा काम गर्ने अस्थायी श्रमिकलाई प्रतिकुल असर परे पनि त्यसमा श्रमिकका कल्याणकारी कोष, वेलफेयर फन्ड छन्, यस्तालाई परिचालन गरी तत्कालका लागि राहत दिन गृहकार्य समेत गरिरहेको उनले जानकारी दिए ।

पर्यटक उद्योगलाई बैंकको ऋण सम्बन्धि परेका समस्या, ऋणको पुनरतालिकिकरण हुन सक्ने विषय वा अन्य कुनै वित्तीय सहयोग गर्ने विषयमा पनि गृहकार्य भइरहेको मन्त्री खतिवडाको भनाइ छ ।

साथै करको भुक्तानीलाई पनि केही समय पर सार्न सकिनेमा पनि छलफल भइरहेको उनको भनाइ छ । त्यो उद्योगको प्रकृति अनुसार फरक पर्ने भएकाले केही समय लाग्ने उनको भनाइ छ ।


क्लिकमान्डु