प्रधानमन्त्रीले आईपीओ किनेकोदेखि निजी क्षेत्रका जलविद्युत अधिकांश आयोजना प्रभावित



काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण विकास निर्माणका कामहरु विशेष गरी प्रभावित भएका छन् ।

सरकारले आर्थिक समृद्धिको प्रमुख आधारको रुपमा रहेको ऊर्जा क्षेत्रलाई समेत कोरोनाले प्रमुख प्रभाव पारेको छ । विशेष गरी ठूला तथा महत्वपूर्ण आयोजना समेत समस्यामा परेका छन् ।

हाल सञ्चालनमा आउने तयारीमा रहेको ढल्केबर सवस्टेशन कोरोनाका कारण सबैभन्दा बढी प्रभावमा परेको छ । कूल ४०० केभी क्षमताको सो सवस्टेशनमा उपकरण जडानका लागि आउनुपर्ने चिनियाँ कामदार नआएका कारण सबैभन्दा बढी समस्या देखिएको छ ।

सो सवस्टेशनमा प्रयोग भएका अधिकाशं उपकरण चिनियाँ भएकाले पनि त्यसमा चिनियाँ प्राविधिक नै आएर सञ्चालन गर्नुपर्नेछ । तर कोरोनाका कारण चिनियाँ प्राविधिक आउन सकेका छैनन । जसका कारण निर्माण सम्पन्न भएर पनि सवस्टेशन सञ्चालनमा आउन सकेको छैन ।

चिनियाँ कामदार आएपनि १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने भएकाले चिनियाँ कामदार नै आउन सकेका छैनन् । जसका कारण आयोजनाको सञ्चालन पर धकेलिएको छ ।

यस्तै चिलिमे जलविद्युत् कम्पनीले निर्माण गरिरहेको साञ्जेन आयोजना समेत समस्यामा परेको छ । सो आयोजनाको उपकरण समेत चिनियाँ नै भएकाले त्यसमा जडानका लागि चिनियाँ प्राविधिक आउनुपर्ने छ ।

माथिल्लो साञ्जेनको निर्माण करिब सम्पन्न भएको छ । कोरोनाका कारण उपकरण जडान हुन नसक्दा जटिलता पैदा भएको छ ।

यस्तै तल्लो साञ्जेनको समेत यही शनिबार सुरुङ निर्माण सम्पन्न हुने क्रममा छ । सो आयोजनामा समेत छिटफूट प्रभाव परेको छ ।

यस्तै कोरोनाका कारण प्रभावमा परेको अर्को आयोजना हो, रसुवागढी । नयाँ वर्ष मनाउन चीन गएका कामदार फर्कन नपाउँदा आयोजना समस्यामा फसेको छ । आयोजनामा कार्यरत कूल ३०० बण्ी कामदारमध्ये ५० प्रतिशत बढी कामदार चीन गएका थिए ।

गत डिसेम्बरको अन्त्यदेखि चीनमा कोरोना फैलिएका कारण चिनियाँ कामदार फर्कन पाएका छैनन् । जसका कारण आयोजना प्रभावित भएको आयोजनाले जानकारी दिएको छ ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओली, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनलगायतले साधारण सेयर खरिद गरेको नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनलिे निर्माण गरिरहेको त्रिशुली थ्री बी जलविद्युत् आयोजना सबैभन्दा बढी प्रभावित भएको छ ।

सो आयोजनाको सबै काममा चिनियाँ ठेकेदार नै रहेका छन् । कोरोनाका कारण कामदार नभएपछि आयोजना समस्यामा परेको छ । आयोजनाका एक अधिकारीका अनुसार आयोजना स्थलमा नेपाली कामदार बाहेक चिनियाँ कामदार नभएका कारण समस्यामा फसेको छ ।

कूल ३७ मेगावाटको क्षमताको सो आयोजनाको निर्माण प्रभावकारी रुपमा अगाडि बढिरहेको बेला कोरोनाको प्रभाव देखिएको हो ।

केही ठूला आयोजनामा भने हालसम्म्म कुनै प्रभाव देखिएको छैन । स्वदेशी लगानीमा निर्माणाधिन माथिल्लो तामाकोशी, भारतीय लगानीमा निर्माण भइरहेको अरुण तेस्रो आयोजनामा कोरोनाको प्रभाव परेको बारेमा कुनै जानकारी आएको छैन । तर, निजी क्षेत्रले निर्माण गरिरहेका र विशेष गरी चिनियाँ ठेकेदार र कामदार रहेका आयोजना भने सबैभन्दा बढी समस्या देखिएको छ ।

सरकारले आयोजनाको बारेमा के गर्ने र जटिलता कसरी फुकाउने भन्ने बारेमा हालसम्म कुनै ठोस कदम चालेको छैन । आयोजनामा समस्या देखिएका कारण आफूहरु समेत मारमा परेको भन्दै निजी ऊर्जा उद्यमीहरुको संस्था स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान)ले त राहत दिने वातावरण बनाउन सरकारसँग आग्रह गरिसकेको छ ।

इपानका अध्यक्ष शैलेन्द्र गुरागाईले राहत दिने र ऋणको अवधि थपलगायतका विषयमा ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई अनुरोध गरेपनि हालसम्म कुनै सुनुवाई नभएको बताएका छन् ।

इपानले सरकारको ध्यानकर्षण गराएको पनि लामै समय भयो, हालसम्म ऊर्जा क्षेत्रमा परेको समस्याका बारेमा कुनै कुराकानी नै भएको छैन । मन्त्रलायले पनि सो बारेमा कुने छलफल नै गरेको छैन ।

यस्तै, कोरोनाका कारण निजी क्षेत्रका आयोजना समेत समसयमा परेको छ । त्यसमा खिम्ती दोस्रोदेखि मस्र्याङदी करिडोरमा निर्माण भइरहेका आयोजना समेत परेका छन् । यस्तै चिनियाँ ठेकेदारले जिम्मा लिएको प्रसारण लाइन समेत समस्यामा परेको छ । कामदार नभएका कारण आयोजनाहरुको लागत र समय दुवै बढ्ने देखिएको छ ।

समस्यामा समाधानका लागि तत्काल पहल गर्न ऊर्जा उद्यमिले सरकारको ध्यानकर्षण समेत गराएको भएपनि हालसम्म यसै गर्ने भनेर कुने निर्णय हुन सकेको छैन ।


क्लिकमान्डु