बक्यौता नतिर्ने उद्योगको विजुली काट्न प्राधिकरण आक्रामक, रिलायन्स स्पिनिङको लाइन काटियो



काठमाडौं । विजुली प्रयोग गरेर लामो समयसम्म बक्यौता राख्ने उद्योगको लाइन काट्न नेपाल विद्युत् प्राधिकरण आक्रामक रुपमा प्रस्तुत भएको छ ।

प्राधिकरणले बुधबार सुनसरीको दुहवीमा रहेको रिलायन्स स्पिनिङ मिल्समा विजुलीको लाइन काटेको छ । प्राधिकरणका १ नम्बर प्रदेशका प्रमुख श्रीराम पाण्डेले बक्यौता बाँकी रहेको रिलायन्सको लाइन काटिएको जानकारी दिए ।

‘रिलायन्सको बक्यौता डेढ अर्ब रुपैयाँ रहेको थियो, लामो समयसम्म ताकेता गर्दापनि नतिरेपछि लाइन काटिएको हो,’पाण्डेले क्लिककमाण्डूसँग भने ।

प्राधिकरणको बिरानगर वितरण केन्द्रले बुधबार नै रघुपति जुट मिल्सको विजुली काटेको थियो । रघुपति जुटमिल्सको १५ करोड रुपैयाँको बक्यौता रहेको थियो ।

दुवै उद्योगले डेडिकेटेट फिडर मार्फत लिएको विजुलीको पैसा तिरेका थिएनन् । प्राधिकरणले बिल पठाएपछि अदालत गएपनि अदालतले उद्योगहरुले मागेको अन्तरिम आदेश दिएन । नियम अनुसार प्रक्रिया कार्यान्वयन गर्न अदालतले आदेश दिएको थियो ।

प्राधिकरणको नियममा पठाएको महशुलमा चिक्त नबुझेमा ३५ दिनभित्र पुनरावलोकन समितिमा निवेदन दिनुपर्ने व्यवस्था छ । यसको लागि प्राधिकरणले काटेको बिलको शतप्रतिशत रकम धरौटी राख्नुपर्छ ।

दुई दर्जनबढी उद्योग प्रतिष्ठानले डेडिकेटेट र ट्रकलाइन वापत प्रयोग गरेको विजुलीको बिल नतिर्ने भन्दै अदालत गएका थिए । त्यसमध्ये हालसम्म २० वटा उद्योगीको मुद्दामाथि अदालतले फैसला गरेको छ । उद्योगीले भने प्राधिकरणले जबरजस्ती बिल पठाएको बताउदै आएका छन् । सरकारले समस्या समाधान गर्न अर्थमन्त्री,ऊर्जामन्त्री र उद्योगमन्त्री सदस्य रहेको समिति गठन गरेपनि हालसम्म एउटापनि बैठक बसेको छैन ।

२०७५ सालमा लोडसेडिङ हटेको घोषणा गरेपछि पनि प्राधिकरणले डेडिकेटेट र ट्रकलाइनको बिल पठाएको छ । त्यो बिल तिर्न नसक्ने उद्योगीहरुले बताउदै आएका छन् । लोडसेडिङ हटेपछि पठाएको बिलमा उद्योगीहरुले असन्तुष्टी जनाएका छन् ।

सार्वजनिक लेखा समितिले भने डेडिकेटेट र ट्रकलाइन विजुली लिएका उद्योगसँग बक्यौता उठाउन र तत्कालिन प्राधिकरणको नेतृत्व र संचालक समितिलाई कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाएको छ ।


क्लिकमान्डु