साढे ३४ करोड ऋण नतिरेपछि गेलुनखोला हाइड्रोपावर लिलामीमा



काठमाडौं । लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नतिरेपछि गेलुनखोला जलविद्युत् आयोजना लिलामी हुने भएको छ ।

लगानीकर्ताको विवादले केही समय पहिले भैरवकुण्ड हाइड्रोपावर लिलामीमा परेको केही समय नबित्दै पुनः अर्को आयोजना समेत लिलामीमा पर्ने भएको हो ।

आयोजनामा एनएमबी बैंक, ग्लोबल आइएमई बैंक र लुम्बिनी विकास बैंकले सहवित्तीयकरणमा ऋण लगानी गरेका थिए । आयोजनामा लगानी गरेको एक बैंकका अनुसार सो आयोजनामा सहवित्तीयकरणमा ३४ करोड ५० लाख रुपैयाँ लगानी गरेका छन् ।

कूल ७० प्रतिशत ऋण लगानी र ३० प्रतिशत स्वपूँजी लगानी गरिएको सो आयोजनामा समेत भैरवकुण्डका जस्तै लगानीकर्ताकाबीचमा चर्को विवाद छ ।

स्रोतका अनुसार लगानीकर्ताहरु मध्ये एकै जनाले पनि ऋण तिर्न सक्ने अवस्था भएपनि विवादका कारण लगानीकर्ता ऋण तिर्न तयार नभएपछि आयोजना लिलामीमा पर्ने अवस्थामा पुगेको हो ।

बैंकका तर्फबाट बुधबार ३५ दिने सूचना जारी गर्दै तत्काल ऋण तिर्न आउन र सो अवधिमा समेत ऋण नतिरेको खण्डमा आयोजना र आयोजनाको चल अचल सम्पत्ति सबै लिलाम गरिने जनाएको छ ।

आयोजनालाई प्रवाह भएको ऋण तिर्न पटक–पटक लिखित तथा मौखिक आग्रह गर्दा समेत सुनुवाई नगरेको, सम्पर्कमा नआएको तथा कुनै पनि चासो नराखेको पाइएको छ । ऋणकर्जा स्म्बन्धी सम्पूर्ण शर्त पूरा नगरेको र त्यसको उल्लंघन गरेको सूचनामा उल्लेख छ ।

बैंकको सूचनामा भनिएको छ – तोकिएको समयमा ऋण नतिरेको खण्डमा आयोजनाका लगानीकर्ता तथा व्यक्तिगत जमानीकर्तालाई समेत कर्जा सूचना केन्द्रको कालोसूचीमा राख्ने र कानूनअनुसार कारवाही गरिने समेत जनाएको छ ।

कानून अनुसार धितो राएिको चल अचल सम्पत्तिबाट असूल उपर हुन नसकेको खण्डमा अन्य कानूनी उपाय समेत अवलम्बन गरिने जनाइएको छ । बैंकका तर्फबाट सञ्चालकहरु चुर्णप्रसाद श्रेष्ठ, इन्द्रप्रसाद शर्मा न्यौपाने, अशोककुमार जोन्छे, सञ्जयकुमार शाह, दलबहादुर विष्ट, दावा फिन्जो लामा भोटे र रविन्द्रकुमार श्रेष्ठको नाममा समेत ऋण तिर्न आउन भनिएको छ ।

यस्तै कमलकुमार श्रेष्ठ, केशवबहादुर पुन, कमलप्रसाद श्रेष्ठ, वीरेन्द्र श्रेष्ठ, सूर्यलाल श्रेष्ठ, संगिता घिमिरे, अशोकुुमार श्रेष्ठ, ब्रम्हाण्ड इन्भेस्टमेन्ट ग्रूप, विजी हाइड्रो इन्भेस्ट कम्पनी, क्यालिवर इन्भेस्टमेन्ट कम्पनीलाई समेत ऋण तिर्न आउन भनेको छ ।

सिधुपाल्चोकमा आयोजना स्थल रहेको सो आयोजनाबाट कूल ३.२ मेगावाट विद्युत् उत्पादन हुने गरेको थियो । आयोजनाबाट वार्षिक १७.१० गिगावाट आवर ऊर्जा उत्पादन हुने गरेको थियो ।

बराम्ची बजार नजिकै रहेको आयोजनाबाट उत्पादित विद्युत् १० किलोमिटर लामो प्रसारण लाइनमार्फत् नेपाल विद्युत् प्राधिरकणको चौतारा सवस्टेशनमा जोडिएको छ ।

आयोजनाको कूल लागत ४९ करोड ५८ लाख २३ हजार रहेको छ । त्यसमा व्याजरहित कूल ४५ करोड ३९ लाख ७६ हजार लागत रहेको छ । आयोजनाबाट वार्षिक कूल ९ करोड ४ लाख कमाई हुने गरेको थियो ।


क्लिकमान्डु