मेरो सेयरको ‘टेस्टेड सफ्टवेयर’मा समस्या, लगानीकर्ताले भर्न पाएनन् पुनर्बीमाको आईपीओ



काठमाडौं । सीडीएस एन्ड क्लियरिङ लिमिटेडको मेरो सेयर सफ्टवेयरले काम नगरेपछि नेपाल पुनर्बीमा कम्पनीको सेयरमा आवेदन दिनबाट लगानीकर्ता अहिलेका लागि बन्चित नै बनेका छन् ।

सफ्टवेयरमा ढिला चल्दा लगानीकर्ता समयमा नै सेयरमा आवेदन दिनबाट बन्चित बनेका छन् । पहिलो पनि सफ्टवेयरमा समस्या देखिएपछि त्यसको क्षमता बढाउनुको साथै नयाँ एप्लिकेशन समेत बनाईएको थियो । बनेपछि त्यसको परीक्षण नभएको र एकै पटक लगानीकर्ताको चाप पर्दा समस्या देखिएको हो ।

सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेका अनुसार उक्त कम्पनीको आईपीओमा लगानीकर्ताहरुले एकै पटक आवेदन दिँदा मेरो सेयर सफ्टवेयरमा सुस्तता आएको हो ।

उनले भने, ‘प्रयोगकर्ताको एकै पटक धेरै हिट आयो, हामीले अहिले काम गरिरहेका छौं, केही समयमा नै यो समस्या समाधान हुने छ ।’

मेरो सेयरमा यसअघि पनि यस्तै समस्या देखिएको थियो । उक्त समस्या समाधानको लागि भन्दै सीडीएससीले सफ्टवेयरको क्षमता बनाउनुका साथै नयाँ शैलिमा एप्लिकेशन समेत बनाई सकेको छ । थपेको क्षमताले पनि काम गर्न नसकेको देखिएको छ ।

सीडीएससीका अनुसार नयाँ एप्लिकेशन बनाएपछि कुनै कम्पनीको पनि साधारण सेयर आएन, जसका कारण कहाँ के समस्या रहेको छ भनेर थाहा पाउन समस्या भएको र अहिले आएको आईपीओमा लगानीकर्ताको चाप बढेपछि समस्या देखिएको हो ।

न्यौपानेका अनुसार केही सामान्य कुरामा समस्या देखिएको र त्यसको समस्या समाधानको लागि आवश्यक काम भइरहेको छ । नयाँ एप्लिकेशन बन्नासाथ कुनै कम्पनीको आईपीओ आएको भए कहाँ के समस्या छ भनेर थाहा पाउन सकिने सीडीएसको भनाई छ ।

कम्पनीले आज (मंगलबार) देखि १ अर्ब ६० करोड रुपैयाँको १ करोड ६० लाख कित्ता आइपीओ जारी गरेको छ । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउने छन् । सेयरमा आवेदन दिनको लागि आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट सकिने छ ।

उक्त सेयरको लागि छिटोमा चैत्र ७ गतेसम्म र ढिलोमा चैत्र १८ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीको सेयरलाई इक्रा नेपालले ‘ग्रेड २’ रेटिङ दिएको छ ।


क्लिकमान्डु