गभर्नरको दाबेदारीमा सुबोध कुमार कर्णलाई उद्योगमन्त्री भट्ट बने बाधक



काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर बन्न प्रत्यासीको सूचिमा रहेका सुबोधकुमार कर्णको तयारीमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट बाधक बनेका छन् ।

भट्टले कर्णमाथि कारबाही गर्न माग राख्दै लेखापरिक्षकको नियामक निकाय नेपाल चाटर्ड एकाउन्टेन्स संस्था(आइक्यान)पत्र पठाएका छन् । सरकारी स्वामित्वको बिराटनगर जुट मिलको लेखापरिक्षण गर्दा सरकारी स्वामित्व घटाएको आरोप कर्णमाथि लागेको छ ।

कर्ण आइक्यानका पूर्व अध्यक्ष हुन् । अहिले उनी नेपाल राष्ट्र बैंकमा संचालक समेत छन् । राष्ट्र बैंकमा बुधबारदेखि खाली हुन लागेको गभर्नर पदका लागि कर्ण समेत दाबेदार हुन् । मन्त्री भट्टको कारबाहीको सिफारिसले भने कर्णको दाबीलाई कमजोर बनाइदिएको छ ।

कर्ण भने गभर्नर पदको नियुक्तीको अन्तिम समयमा आफुमाथि राजनीतिक प्रतिशोध राखेर कारवाहीको चिठी पठाएको बताए ।

उनले लेखापरिक्षण गर्दा सरकारको सेयर आफुहरुले घटाउन भूमिका नखेलेको कम्पनी रजिष्ट्रारको कार्यालयले दिएको चिठीलाई मान्यता दिएको बताए ।

‘कम्पनी रजिष्ट्रारको कार्यालयबाट नै सेयर स्वामित्वको विषयमा पत्र आएको छ,त्यही आधारमा हामीले काम गर्ने हो,’उनले भने ।

कर्णले आफु आइक्यान अध्यक्ष हुँदा युनिटीको केसमा कारवाही गरेका चाटर्ड एकाउन्टेन्स जनक बरालले छानबिन समितिमा रहेर अहिले इगो पोख्ने काम गरेको बताए ।

राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपालको कार्यकाल मंगलबार राती १२ बजेदेखि सकिने छ । ५ वर्षको गभर्नर पदका लागि विभिन्न दाबेदारहरु अहिले देखिएका छन् ।

गभर्नरका लागि राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी अर्का डेपुटी गभर्नर शिवराज श्रेष्ठ दाबेदार छन् । राष्ट्र बैंक ऐनमा एकजना डेपुटी गभर्नरलाई गभर्नरको सिफारिस अनिवार्य गर्नुपर्ने व्यवस्था छ ।

यस्तै पूर्व डेपुटी गभर्नर महाप्रसाद अधिकारी पूर्व अर्थसचिव राजन खनाल तथा पूर्व राजस्व सचिव तथा अहिले प्रधानमन्त्रीका आर्थिक सल्लाहकार रहेका लालशंकर घिमिरे गभर्नर पदका लागि दावेदार हुन् । जसमा घिमिरेको नाम अहिले निकै चर्चा छ ।

यस्तै बजारमा भएको चर्चा अनुसार अहिलेका अर्थसचिव शिशिर ढुंगाना कर्मचारी संचय कोषका पूर्व प्रशासक कृष्ण आचार्य समेत दाबेदारको रुपमा चर्चामा छन् ।

राष्ट्र बैंकबाट कार्यकारी निर्देशकबाट अवकास पाएका र धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ती पाएका भीष्मराज ढुंगानाले समेत गभर्नरका लागि बलियो लबिङ गरेका छन् । उनीलाई राष्ट्रपति विद्यादेवी भण्डारीको समर्थन रहेको छ ।


क्लिकमान्डु