योजना आयोगले सबै मन्त्रालयलाई नयाँ बजेटको सिलिङ पठायो



काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को निर्माणको कार्यलाई तीब्रता दिएको छ ।

त्यसका लागि राष्ट्रिय योजना आयोगले चैत ९ गतेबाट आवश्यक छलफल अघि बढाउने भएको छ । आयोगका अनुसार सबै मन्त्रालयलाई स्रोत समितिले झण्डै १५ दिनअघि नै आगामी आवको बजेटको सिलिङ पठाइसकेको छ ।

उक्त सिलिङका आधारमा मन्त्रालयहरुसँग राष्ट्रिय योजना आयोगले आगामी आवको बजेटको लागि आवश्यक छलफल गर्ने बताइएको छ ।

यता आयोगका प्रवक्ता मिनबहादुर शाहीका अनुसार चैतको दोस्रो साता सम्ममा आयोगले मन्त्रालयसँगको छलफल टुंग्याउने बताए ।

उनका अनुसार बजेटको लागि कुन मन्त्रालयसँग कहिले छलफल गर्ने भनेर कार्यतालिका पास भएर मन्त्रालयसम्म पुगिसकेको छ ।

सरकारले चालु आर्थिक वर्ष २०७६/०७७ मा १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट विनियोजन गरेको थियो । विनियोजनमध्ये चालुतर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख र पूँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ लाख रुपैयाँ रहेको छ । यस्तै वित्तीय व्यवस्थातर्फ १ खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख रुपैयाँ रहेको छ ।

आयोगले आगामी आव २०७७/०७८को लागि १७ खर्ब ५९ अर्ब ६ करोड ९६ लाख रुपैयाँको सिलिङ तोकेको छ । जसमा चालु खर्च १० खर्ब १ अर्ब ३५ करोड ८४ लाख, पुँजीगत तर्फ ५ खर्ब ४५ अर्ब ९० करोड ११ लाख र वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ११ अर्ब ८१ करोड २ लाख रुपैयाँ रहेको छ ।

आयोगको प्रक्षेपण गरेको बजेटको सिलिङमा आव २०७८/७९ मा २० खर्ब ५२ अर्ब ८८ करोड ७९ लाख रुपैयाँ रहेको छ । जसमा चालु खर्च तर्फ १० खर्ब ७६ अर्ब ८१ करोड २० लाख रुपैयाँ रहेको छ ।

यस्तै पुँजीगततर्फ ७ खर्ब १० अर्ब ८३ करोड ५९ लाख रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ६५ अर्ब २४ करोड रुपैयाँ हुने आंकलन गरको छ । उक्त आवमा भने पुँजीगत खर्च अन्य आवको तुलनामा बढने आयोगको आंकलन गरेको छ ।


पुष्प दुलाल