सेयर बजारमा भारी गिरावट, बजार १३ सयको नजिक
काठमाडौं । साताको पहिलो दिन सेयर बजार मापन गर्ने सूचकमा दोहोरो अंकको गिरावट आउनुको साथै कारोबार रकममा पनि निकै गिरावट देखिएको छ ।
आइतबार बाट नै कारोबार रकमलाई पनि १ घन्टा बढाएर दैनिक ५ घन्टा पुर्याईएको छ । दैनिक ११ देखि ३ बजेसम्म हुने गरेको कारोबार अब भने ११ देखि ४ बजेसम्म सुरु भएको छ ।
कारोबार समय सुरु भएको पहिलो दिन नै बजारमा भारी गिरावट देखिएको छ । कारोबारको सूरु देखि नै बजारमा देखिएको गिरावट अन्तिमसम्म सुधार भएन । बजारमा आएको गिरावटले सेयर बजार १३ सयको नजिक पुग्न लागेको छ ।
नेप्से मापन गर्ने सूचक ६४.१४ अंकले घटेर १३ सय १३.०४ बिन्दुमा रोकिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १२.८८ अंकले घटेर २८२.६२ बिन्दुमा रोकिएको छ ।
१७४ कम्पनीको ५५ लाख ७० हजार ३० कित्ता सेयर २ अर्ब १० करोड १४ लाख १७ हजार २९२ रुपैयाँको सेयर किनबेच भएको छ । १२ वटा समूहको कारोबारमा सबैको उपसूचकमा गिरावट आएको छ ।
कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । नेपाल लाइफको १७ करोड ३६ लाख ९० हजार ४४९ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो कम्पनीमा एनआईसी एसिया बैंक र एनएमबी बैंक रहेको छ ।
आइतबारको कारोबारमा यूनाइटेड मोदी हाईड्रोपावर, सिन्धु विकास बैंक, ओमी माइक्रोफानान्स वित्तीय संस्थाका लगानीकर्ताले कमाउँदा सामुदायिक लघुवित्त वित्तीय संस्था र हिमालयन जनरल इन्स्योरेन्सको कारोबारमा नकारात्मक सर्किट नै लागेको छ ।
यस्तै मिथिला लघुवित्त वित्तीय संस्था, नेरुडे लघुवित्त विकास बैंक, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । यो दिनको कारोबारमा कमाउने भन्दा गुमाउने कम्पनीका लगानीकर्ता धेरै नै रहेका छन् ।